विराटनगर । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कोशीबाट राष्ट्रिय सभामा आफू निर्वाचित भएपनि गठबन्धनका अर्का उम्मेदवार चम्पादेवी कार्की पराजित हुनुमा गठबन्धनमा कहीँ न कहीँ त्रुटि भएको प्रतिक्रिया दिएका छन् । उनले आफूलाई एमालेका केही मतदाताले विद्रोह गरेर मत दिएको भन्दै आफू राष्ट्रिय राजनीतिमा खडा हुँदा घेराउ गर्ने प्रवृत्ति हाबी हुने गरेको पनि बताए ।
विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले भने, ‘एमालेका जनस्तरका कार्यकर्ताको आफ्नो पार्टीको निर्णयप्रति विद्रोह गरेको होकि जस्तो मलाई लाग्छ । अन्यथा हामी दुइटै उस्तैउस्तै देख्छौँ ।’
उनले आफू राष्ट्रिय राजनीतिमा खडा हुँदा घेरेवन्दी हुने गरेको र यो पटक पनि त्यस्तै भएको आफूलाई महसुस भएको बताए ।
‘मलाई के लाग्छ भने म राष्ट्रिय राजनीतिमा जब खडा हुन्छु, मलाई घेराउ गर्ने प्रवृत्ति हाबी भएको जस्तो लाग्छ । यो निर्वाचनमा पनि मलाई त्यस्तो अनुभव भयो’, उनले भने, ‘सायद त्यही कारण चम्पादेवीप्रति बढी प्रहार भयो ।’
उनले नतिजाबारे प्रदेश तहमा विश्लेषण हुने भन्दै गठबन्धनमा पनि छलफल हुने बताए । उनले भने, ‘कहीँ न कहीँ त्रुटि भएको छ ।’
