काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रियसभा निर्वाचन बहिस्कार गरेका छन् । हिजो भएको राष्ट्रियसभा निर्वाचनमा दुवै मेयरले मतदान नगरेका हुन् । उनीहरू गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।
राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौँडामा मतदान भएको थियो । काठमाडौं महानगरका उपमेयर सुनिता डङ्गोल मतदानका लागि हेटौँडा पुगेका थिए भने मेयर बालेन भने गएका थिएनन् । मेयर शाह हेटौँडा नगएको बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए ।
धरान उपमहानगरका मेयर हर्क पनि कार्यव्यस्तता देखाउँदै मतदानको लागि विराटनगर गएनन् । व्यस्त भएका कारण भोट हाल्न नगएको उनले जानकारी दिएका छन् । राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता थिए ।
