काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन्।
शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलन परिचालन समितिले गरेको बृहत् आन्दोलन पूर्वतयारी छलफलमा बोल्दै नेता लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका हुन्। उनले आन्दोलनमा जाने भए आन्दोलनमा जानुपर्ने र आन्दोलन नगर्ने भए चुपचाप बस्नुपर्ने बताएका हुन्। उनले पार्टीको कार्यदिशाको सम्बन्धमा बैठकमा छलफल हुनुपर्ने र बहुमतले पारित गरेको निर्णय लागू हुनुपर्ने बताए।
उनले राप्रपामा आन्दोलनमा जानुपर्ने मत बलियो भएको भन्दै आन्दोलन गर्नुपर्नेमा जोड दिए। उनले राप्रपा पनि एमाले, काँग्रेस र माओवादी भन्दा फरक रहेनछ भन्ने स्थितिमा पुर्याउनु नहुनेमा सतर्क रहनुपर्ने बताए। उनले राप्रपाले वैचारिक शक्ति र संगठन निर्माणलाई साथसाथै अगाडि बढाउनुपर्ने बताए।
छलफलमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजा र हिन्दुराष्ट्रको एजेण्डा लिएर जाँदा देशमा न्यूनतम ३० प्रतिशतदेखि अधिकतम ५० प्रतिशत जनमत आउने बताए। उनले नेताहरूको अवसरवादी चरित्र र खराबीका कारण ५० प्रतिशत जनमत भएको ठाउँमा ५ प्रतिशत मात्रै मत आएको बताए।
उनले पार्टीले सबै नेता, कार्यकर्ताको कुरा सुन्नुपर्ने बताए। उनले आमनिर्वाचनमा उम्मेदवार भएका सबै नेता, कार्यकर्तालाई संगठित र एकीकृत गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।
