• ट्रेण्डिङ्ग :
रक्षामन्त्री खड्काले गरे सेनाको यान्त्रिक सेवा महानिर्देशनालयको निरीक्षण

रक्षामन्त्री खड्काले गरे सेनाको यान्त्रिक सेवा महानिर्देशनालयको निरीक्षण


  • 2.3K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.5K Views

    रक्षामन्त्री खड्काले गरे सेनाको यान्त्रिक सेवा महानिर्देशनालयको निरीक्षण

    काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महानिर्देशनालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

    images

    नेपाली सेना बहुव्यवसाय उद्योग–जुत्ता कारखाना, सुन्दरीजल आर्सनल कार्यालय र सुन्दरीजल मिनरल वाटर प्लान्ट स्थापनाले नेपाली सेनाको बन्दोबस्ती क्षमता अभिवृद्धि गर्नुका साथै अत्यावश्यक सैनिक सामग्री उत्पादनमा आत्मनिर्भरता हासिल गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो। 

    उनले यस क्षेत्रमा कार्यरत सैनिक तथा गैरसैनिक सकल दर्जाको योगदानको प्रशंसा गर्दै प्रभावकारी ढङ्गबाट कार्य सम्पादनका लागि नेपाली सेना र कर्मचारीलाई हौसला दिए।

    ‘विश्वका कतिपय राष्ट्रका सङ्ग्रहालयमा संरक्षित गरी राखिएको वीर गन यस सुन्दरीजल कार्यालयमा उत्पादन भएको तथा विगतमा ०.४५ इन्च मार्टिन हेनरी एम्युनिशन उत्पादन गरी निर्यात समेत गरेको देखिँदा‚’ उनले भने‚ ‘यस कार्यालयले आफ्नो क्षमता अभिवृद्धि गर्दै हाल नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन स्ट्यान्डर्डका विभिन्न प्रकारका गुणस्तरीय साना हतियार र गोलाबारुदको उत्पादन गर्न सक्ने क्षमतासमेत हासिल गरेको जानकारी पाउँदा मलाई ज्यादै खुशी लागेको छ।’

    नेपाली सेनाले हालसम्म प्रयोगमा ल्याइरहेको डिएमएस बुटको साटो अन्तरराष्ट्रिय मापदण्डअनुसार बुट उत्पादन गर्ने लक्ष्यअनुरूप ओरिजिनल फूटवेयर लिमिटेड लियाबिलिटी कम्पनी (एलएलसी) अमेरिकी कम्पनीबाट ओरिजिनल स्पेसल विपन्स एण्ड ट्याक्टिस बुटको ट्रेडमार्क तथा प्रविधि लिएर गुणस्तरीय बुट उत्पादन गर्न स्थापना भएको जुत्ता कारखानाले ठूलो परिमाणमा उत्पादन शुरु गरेकोमा उनले प्रसन्नता व्यक्त गरे।

    आधुनिक प्रविधिबाट बुट उत्पादन गर्न सक्ने क्षमता हुँदाहुँदै पनि पर्याप्त जनशक्ति, तालिम र बजेटको कमीले प्लाण्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न कठिनाइ देखिएको भन्दै उनले यी समस्या तथा चुनौती समाधान गर्न सरकारले पहल गर्ने बताए। उपप्रधानमन्त्रीका साथमा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मालगायत सहभागी रहेका थिए।


    तेस्रो आँखा