• ट्रेण्डिङ्ग :
कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि छलफल
प्रधानमन्त्रीको अध्यक्षतामा कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि छलफल

प्रधानमन्त्रीको अध्यक्षतामा कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि छलफल


प्राप्त सुझावका आधारमा तीनै तहका सरकारको एकल तथा साझा अधिकार तय गरिने

  • 4.0K
    SHARES
    • माघ १४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.1K Views

    प्रधानमन्त्रीको अध्यक्षतामा कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि छलफल

    काठमाडौँ, १४ माघ । कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि उच्चस्तरीय छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्ष्यतामा आज भएको छलफलमा कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक अर्जुनप्रसाद पोखरेलले कार्यप्रगति प्रस्तुत गर्नुभयो ।

    images

    विज्ञका तर्फबाट डा. सोमलाल सुवेदीले कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा प्रस्तुत गर्दै कार्यविस्तृतीकरणका लागि अवलम्वन गरिएका प्रमुख सैद्धान्तिक मापदण्ड एवं संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रबारे जानकारी गराउनुभयो । उहाँले सुरक्षा तथा शासकीय क्षेत्र, कानुन, सामाजिक एवं आर्थिक क्षेत्रका विषयमा सहभागीहरूले आफ्ना धारणा प्रस्तुत गर्नुभयो ।

    डा. सुवेदीले नियमन, मापदण्ड र देशैभर एकरूपता हुनुपर्ने प्रकृतिका विषयहरू संघले, विकास, पूर्वाधार, प्रादेशिक समन्वय तथा प्रवद्र्धन प्रदेशले र सेवा प्रवाह स्थानीय तहले सम्पादन गर्नेगरी कार्य निक्षेपण गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश वा स्थानीय अधिकारीले सङ्घीय कानुन बमोजिम अधिकार प्रयोग गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
     
    छलफलको अन्त्यमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले संविधान जारी भएपश्चात सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय शासन प्रणालीको अभ्यास भइरहेको उल्लेख गर्दै प्राप्त सुझावका आधारमा तीनै तहका सरकारको एकल तथा साझा अधिकार तय गरिने बताउनुभयो । 

    Pm Chhalfal.jpg

    छलफलमा उपप्रधानमन्त्रीहरुरू, राष्ट्रियसभा एवं प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरू,  सांसदहरू, विभिन्न पार्टीका नेताहरू, मुख्यसचिव एवं विभिन्न मन्त्रालयका सचिवहरू एवं विज्ञहरूको उपस्थिति रहेको थियो । उहाँहरूले संघीयतालाई सबल तुल्याउने विषयमा केन्द्रित भएर सुझाव दिनुभएको थियो ।

    संघीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टताहरू हटाउने सन्दर्भमा राष्ट्रिय समन्वय परिषद्को असारमा सम्पन्न बैठकले कार्यविस्तृतीकरण परिमार्जन तथा सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । 

    संविधानको अनुसूची ५ देखि ९ सम्म उल्लिखित संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको कार्यविस्तृतीकरण सरकार (मन्त्रिपरिषद)बाट २०७३ माघ १८ मा स्वीकृत भई कार्यान्वयनमा छ ।

  • सम्बन्धित विषय:

  • # कार्यविस्तृतीकरण परिमार्जन

  • तेस्रो आँखा