काठमाडौं, १४ माघ । चर्चित नायिका रेखा थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच अमेरिका र नेपालबाटै जुहारी चलिरहेको छ । नायिका रेखा थापाको ‘बेबी प्लान’को विषयमा अध्यक्ष लिङ्देनले गरेको कटाक्षप्रति नायिका थापाले अमेरिकाबाटै लिङ्देनलाई जवाफ फर्काएपछि जुहारी चर्किएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी निकटको प्राज्ञिक परिषद्को कार्यक्रममा बोल्दै शनिबार लिङ्देनले आफ्नै पार्टीकी नेतृसमेत रहेकी नायिका रेखा थापालाई लक्षित गर्दै व्यंग्य कसेका थिए ।
कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनको भनाइ थियो, ‘एकजना पूर्वगृहमन्त्रीको कुरा मात्र होइन । एकजना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो । प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’ अध्यक्ष लिङ्देनको यही अभिव्यक्तिपछि आफूप्रति लक्षित ठान्दै नायिका थापाले पनि सामाजिक सञ्जालबाटै त्यसको जवाफ फर्काएकी हुन् ।
अध्यक्ष लिङ्देनले नायिका रेखा थापाको नाम नलिएरै यस्तो व्यंग्य कसेका थिए । उता, सोही पार्टीकी नेतृसमेत रहेकी रेखा अहिले बेबी प्लानको योजनासहित अमेरिका पुगेकी छन् । लिङ्देनको अभिव्यक्ति सार्वजनिक भएलगत्तै नायिका थापाले पनि अमेरिकाबाटै चोटिलो जवाफ फर्काएकी छन् ।
नायिका थापाले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्टमार्फत अध्यक्ष लिङ्देनलाई जवाफ फर्काएकी हुन् । उनले लेखेकी छिन्, ‘देशको माया हुनेहरुले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो । अमेरिकामा किन राखेको ?’ अध्यक्ष लिङ्देन र नायिका थापाबीचको यस्तो कटाक्ष अहिले नेपाली सञ्चारमाध्यममा सर्वत्र चर्चाको विषय बनेको छ ।
नायिका थापाको फेसबुक पोष्ट तल हेर्नुहोस् ।
