काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य गर्न सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन्। मुलुकलाई अघि बढाउन भ्रष्टाचारलाई शून्यमा झार्नुपर्ने भएकाले त्यसका लागि सबै राजनीतिक शक्तिहरु एकताबद्ध र प्रतिबद्ध भएर लाग्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो।
मंगलवार काठमाडौँमा अयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले आफ्ना विगतका अभिव्यक्तिहरु पनि देश विकासका लागि एकताबद्ध प्रयास गर्नुपर्नेमा केन्द्रित रहेको बताए। अध्यक्ष ओलीले राष्ट्रिय आत्मविश्वास जगाएर मुलुकलाई बनाउन सकिने पनि दोहोर्याए। उनले नीतिको नाममा आफूलाई अघि सारेर देशलाई पछि पार्नु नहुने पनि बताए।
‘राष्ट्रिय आय बढाउनु पर्छ‚ त्यसका लागि सुशासन, पारदर्शीता। त्यसका लागि भ्रष्टाचार न्यूनता र शून्य। त्यसो नगरे देश कसरी बन्छ? हामी देश विकास गर्न सक्छौं तर प्रतिबद्धता र प्रतिबद्ध प्रयास चाहिन्छ‚’ उनले भने, ‘मलाई लाग्छ– यस कुरामा देश एकजुट भएर अघि बढ्नुपर्छ। राष्ट्रिय एकता, राष्ट्रिय संकल्प, राष्ट्रिय प्रतिबद्धता, राष्ट्रिय आत्मविश्वासका साथ अगाडि बढ्न जरुरी छ।’
