देउखुरी (दाङ) । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्नु भएको छ । लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको माघ २१ लाई प्रदेश स्थापना दिवस मनाउने निर्णय अनुसार यो दिवस मनाइएको छ ।
आज बिहान शुभकामना सन्देश जारी गर्नु हुँदै सभामुख घर्ती मगरले संघीयताको खास मर्म, भावना र उदेश्यलाई परिपुर्ति गर्न दिवसले प्रेरणा प्रदान गर्ने बिश्वास व्यक्त गर्नु भयो । प्रदेशप्रति जनताको आशा र भरोसा बचाउन संघीयताको मुल मर्म बुझ्नु पर्ने उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ । अझै जनमुखी, जनउत्तरदायी भई काम गर्नु पर्ने आवस्यकता औल्याउँदै उहाँले शुन्य संरचनाबाट शुरु भएको लुम्विनी प्रदेश सभा र सरकारले तिव्र गतिका साथ काम थालेको जनाउनु भएको छ ।
शुभकामना सन्देशमा उल्लेख छ 'प्रदेशको लागी आवश्यक कानुन निर्माण भईसकेका छन, जनताले प्रदेशलाई नजिकबाट वुझ्ने देख्ने र अनुभूति गर्ने गरी नीति कार्यक्रम तय गरी कार्यान्वयन भएका छन् । प्रदेश सभाले प्रदेश संचालनको लागी अत्यावश्यक कानुन निर्माण गरी कार्यान्वयन प्रक्रियामा छन् । प्रदेश सभा र सरकारलाई जनमुखी, जिम्मेवार, प्रभावशाली र मर्यादित बनाई वास्तवमै संघीयताको अनुभूति हुने गरि काम गर्ने हामी प्रयत्नशील छौं ।'
एक्लो प्रयासले सबै कुरा सम्भव हुन नसक्ने उल्लेख गर्नु हुँदै सभामुख घर्ती मगरले संघीयता कार्यान्वयको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तह बीच एक आपसमा समझदारी र सहकार्य जरुरी रहेको जनाउनु भएको छ । साझा अधिकारको सम्वन्धमा अझै स्पष्टता र कानुन निर्माणको सन्दर्भमा संघीय सरकारले सहजीकरण आवश्यक रहेको उहाँले उल्लेख गर्नु भयो ।
भौतिक संरचनाका अभावका वीच सभा र सरकारले सेवा स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) प्रारम्भ गर्नु पनि उपलब्धीको विषय भएको र यसमा प्रदेशवासी सबैको भूमिका रहेको सन्देशमा उल्लेख गर्नुहुँदै सभामुख घर्ती मगरले प्रदेश स्थापना दिवसको अवसरमा सबैमा विशेष धन्यवाद सहित आभार व्यक्त गर्नु भयो ।
'प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशबासी सम्पुर्ण आमा बुवा, दाजु बहिनी, दाजु भाइ, सम्पुर्ण माननीय सदस्य ज्यूहरु, संस्थापक प्रदेश सभा सदस्य ज्यूहरु, सम्पुर्ण जनसमुदाय, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघ–संस्थाका अगुवाहरु, नागरिक समाज सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।' सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
