जीवन नेपाली
दाङ । बंगचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुलीको विकास चाहने हरेक सचेत नागरिकले अख्तियारमा उजुरी दिन आव्हान गर्नुभएको छ । उहाँले अख्तियारमा उजुरी परेपछि मात्रै गल्ती कमजोरीलाई सच्चाउने मौका मिल्ने भएकाले सबै सचेत नागरिकले अख्तियारमा उजुरी हाल्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष पुनले गैरकानुनी काम गर्ने छुट कसैलाई नभएको भन्दै हरेक नागरिकले कानुनको अधीनमा रहेर काम गर्नुपर्ने बताउनुभयो । बंगलाचुली गाउँपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको आयोजना तथा बंगलाचुली गाँउपालिकाको व्यवस्थापन तथा सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष पुनले अख्तियारले आयोजना गरेको कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर मिलेको भन्दै खुशी व्यक्त गर्नुभयो । पुनले कानुनले वर्जित गरेको कुनै पनि कामहरु गर्न नहुनेमा आफूहरु सचेत रहेको भन्दै आफूहरुले नियतवश कुनै पनि गल्ती कमजोरी नगर्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष पुनले भन्नुभयो, “जनताको काम गर्दा कसैले गलत नियत राखेर फसाउन खोजे जनताको लागि जेलै समेत जान तयार छु तर क्षणिक स्वार्थ राखेर मैले कुनै पनि गलत काम गर्दैन र हुन पनि दिँदैन ।”
उहाँले बंगलाचुलीको विकासका लागि सबैको साझा सहमति र सहकार्य आवश्यक रहेको समेत बताउनुभयो । उहाँले बंगलाचुलीको समग्र विकासका लागि कुनै एक व्यक्तिले मात्रै सम्भव नहुने भन्दै सबै दल तथा सरोकारवालाहरुको बीचमा साझा सहमति र सहकार्यका लागि आफू हरदम तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले गाउँपालिकाको सुशासनलाई चुस्त राख्नका लागि आफूहरु लागिपरेको बताउनुभयो । उहाँले गाउँपालिकामा सुशासन इकाई स्थापना गरी पालिकाको हरेक कामको निगरानी गर्नेगरी योजना बनाइने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका उपाध्यक्ष जिसीले गाउँपालिकाले दिगो विकासको लक्ष्यलाई आत्मसात गर्दै दिगो विकास लक्ष्यको बुँदा नम्वर ६ मा रहेको स्वच्छ खानेपानी तथा सरसफाईको अभियानलाई पहिलो प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेशबहादुर बस्नेतले आयोगमा परेका भ्रष्टाचारजन्य उजुरीहरुको प्रवृत्तिका बारेमा प्रशिक्षित गराउनु भएको थियो । सो अवसरमा उहाँले सार्वजनिक ओहदाका जोकोहीले पनि गल्ती गर्ने छुट नभएको र अञ्जानमा गल्ती गरेपनि पनि मैले जानिन वा थाहा पाएन भन्न नपाउने कानुनी प्रावधान रहेको भन्दै हरेक कामलाई चुस्त तथा पारदर्शी ढङ्गले गर्न सुझाव दिनुभयो । कार्यक्रममा आयोगका सूचना अधिकारी झलक केसीले भ्रष्टाचारको परिचय, अर्थ र परिभाषाको बारेमा प्रशिक्षित गराउनुभएको थियो । कार्यक्रमका सहभागीहरुलाई कुनै पनि काममा गतल भएको महसुस भएमा अख्तियारमा उजुरी गर्न सिकाइएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आयोगका सूचना अधिकारी झलक केसीले गर्नुभएको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, उपभोक्ता समितिका प्रमुख तथा पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
