काठमाडौँ : खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचनामा जोड दिएका छन्।
मंगलवार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन्। उनले काठमाडौंका जनतालाई १२ महिना खानेपानी दिने सरकारको योजना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना नगरे सम्भव नभएको बताए।
उनले काठमाडौँ उपत्यका खानेपानीको पुनर्संरचना गरी त्यसैको प्रमुख भूमिका हुने गरी निर्माण गर्नसके मात्रै अहिलेको खानेपानी समस्याको हल हुने विश्वास व्यक्त गरे। उनले काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान गर्ने सरकारले मेलम्ची खानेपानी आयोजना ल्याउने प्रतिबद्धता जनाएको २२ वर्ष हुँदा पनि नसकेको बताए। उनले काठमाडौँका जनताले पर्याप्त मात्रामा पानी अहिलेसम्म नपाएको बताए।
उनले सरकारसँग १७ करोड लिटर पानी हुने तर माग ५१ करोड लिटर रहेको बताए। उनले सरकारले १७ करोड लिटर पानी समयमै उपलब्ध नगराउँदा ८ महिनासम्म मात्रै पानी दिनसक्ने अवस्था रहेको बताए। उनले काठमाडौँका जनतालाई १२ महिना पानी उपलब्ध गराउन सरकारले विभिन्न स्थानीय स्रोत खोजिरहेको बताए। यसको बढी जिम्मेवारी स्थानीय सरकारको भएको पनि उनको कथन छ।
मन्त्री यादवले भने, ‘नेपाल जलवायु परिवर्तनको कारण नेपाल सबैभन्दा बढी प्रभावित देश बनेको छ। हिमाल पग्लिरहेको छ। पानीका मुहान र खोला सुकिरहेका छन्। तराई मधेशमा र काठमाडौंमा पानीको सतह घटिरहेको छ। काठमाडौंका जनताले पर्याप्त पानी पाएको अवस्था छैन। सरकारसँग १७ करोड लिटर पानी हुन्छ। ५१ करोड लिटर माग छ। सरकारले १७ करोड लिटर पानी समयमा नै उपलब्ध नगराउँदा ८ महिनासम्म मात्रै पानी दिन सक्ने अवस्था हुन्छ।’
