काठमाडौँ : राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपराध गरेको आरोप लगाएका छन्।
महिला र पुरुष राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई गलत अर्थ लगाएर सत्तारुढ गठबन्धनसँग आत्मसमर्पण गरेर त्यसको निर्वाचन गराएकाले निर्वाचन आयोगले नेपाली जनतामाथि ठूलो अत्याचार गरेको उनको जिकिर थियो।
बुधवार संघीय संसद राष्ट्रियसभाअन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा सांसद गौतमले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो निर्वाचनमा संविधानको गलत अर्थ लगाएर निर्वाचनलाई वैधानिकता दिएकाले त्यसको भागीदार उनी नै बन्नुपर्ने समेत बताए।
‘अघि भर्खरै प्रमुख निर्वाचन आयुक्तले संविधानको कुरा उठाएर वा भन्ने कुराको अर्थ विभिन्न लाग्दो रहेछ भन्दै यस पटक भएको निर्वाचनलाई वैधानिकता दिनुभयो। यस पटकको राष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपतिको संविधानको गलत अर्थ लगाएर उपराष्ट्रपति बनाइएको छ र अहिलेको गठबन्धनअगाडि आयोगले आत्मसमर्पण गरेको छ‚’ सांसद गौतमले भने, ‘यसमा कसैले मुद्दा हालेको छैन र यो वास्तवमा दण्डनीय अपराध भएको छ। गलत व्याख्या गरियो।’
राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष दुवै हुनुपर्ने २०७२ सालको निर्वाचनको नजिरलाई लत्याएर निर्वाचन आयोगले सो निर्वाचनमा गलत निर्णय लिएको सांसद गौतमको भनाई थियो। उनले त्यस अवसरमा संविधानको व्याख्या गर्ने काम नगर्न पनि निर्वाचन आयोगलाई सचेत गराए।
‘२०७२ सालको राष्ट्रपति निर्वाचनमा नजिर बसिसकेको छ। संविधानमा वा भनिएको व्यवस्था के हो भन्दा एकजना पुरुष र एकजना महिला हुनैपर्छ। त्यसमध्ये एउटा फरक समुदायको हुनुपर्छ भन्ने हो‚ महिला र पुरुष अनिवार्य छ तर यो दुईवटामध्ये एउटै समुदायको हुनु हुँदैन। दुईवटा समुदायको हुनुपर्छ र त्यो नजिर बसिसकेको छ‚’ उनले भने‚ ‘यस्तो अवस्थामा निर्वाचन आयोगले नै त्यो निर्वाचन गरायो। निर्वाचन आयोग अन्धो भयो। संविधानको ब्याख्या सर्वोच्च अदालतले गर्छ‚ निर्वाचन आयोगले होइन। गलत भएको छ।’
सांसद गौतमले निर्वाचन प्रणालीमा पनि धेरै त्रुटि रहेको पनि दोहोर्याए।
