काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने बताएका छन्।
पार्टीले वर्ग आत्मसमर्पणवादको बाटो लिएकाले आगामी राष्ट्रिय महाधिवेशनबाट त्यसलाई सच्याउनुपर्ने सम्मानित नेता खनालको भनाइ थियो। समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीबाट श्रमजीवी वर्गबाट टाढा पुर्याउने काम विद्यमान मोर्चाबन्दीले गरिरहेकाले त्यसलाई सच्याउन पार्टीले आगामी महाधिवेशनको तयारी गर्नुपर्ने बताए।
सम्मानित नेता खनालले वर्ग समन्वयको बाटोबाट मुलुकमा श्रमजीवी वर्गको हित हुनै नसक्ने बताए।
खनालले भने, ‘प्रधान प्रतिद्वन्द्वीसँग कुनै मोर्चा बन्दैन। यदि बनाइयो भने त्यो गलत हुन्छ। त्यसले वर्ग संघर्ष गर्ने होइन, वर्ग समन्वय गराउँछ। वर्ग आत्मसमर्पणवाद गराउँछ। अहिले हामी श्रमजीवी वर्गबाट जसरी टाढिएका छौं नि। हो, यही कुरा सच्याउन हामीले राष्ट्रिय महाधिवेशनमा सच्याउन सक्नुपर्छ।’
सम्मानित नेता खनालले नेपालमा हाल तत्काल वामपन्थीहरूबीच एकता सम्भव नभए पनि कार्यगत एकता हुनसक्ने पनि दोहोर्याए।
