काठमाडौँ । नाग्मती बाँध निर्माणपछि सुख्खा मौसममा वाग्मती नदीमा पानीको बहाव बढाउने र काठमाडौँ उपत्यकामा बढ्दो खानेपानीको सङ्कट घटाउने दाबी गरिएको छ । नाग्मती बाँध आयोजनाले वन मन्त्रालयमा पेश गरेको प्रतिवेदनअनुसार बाँधले निकुञ्जको ६५.३०४ हेक्टर र निजी जग्गाको ०.२९५ हेक्टर ओगट्छ ।
बाँधको भुँइ ७ मिटर चौडाइ र ९० मिटर भन्दा माथिल्लो भाग ५ सय ५४ मिटर चौडाइको निर्माण गर्न प्रस्ताव गरिएको छ । अहिले प्रस्ताव स्वीकृत भएमा नाग्मती बाँधले नाग्मती नदीको मुहान पूर्ण रूपमा मासिन्छ । ९० मिटर अग्लो बाँध पूर्ण रूपमा भरिन पानीको स्रोत पर्याप्त हुनेमा आशङ्का व्यक्त गरेका विज्ञहरूले संरक्षित क्षेत्रभित्र बाँधजस्ता परियोजना बनाउनु पूर्व विषय विज्ञ र सरोकारवालाबिच गम्भीर छलफल हुनुपर्नेमा जोड दिए ।
यो ड्याम बनेपछि सुख्या याममा बाग्मतीमा प्रतिसेकेन्ड ४ सय ५० लिटरका दरले पानीको बहाव बढाउन सकिने नाग्मती आयोजनाका प्राविधिकहरूको तर्क छ । बाग्मती सुधार आयोजनाका इन्जिनियर निश्चल छतकुली भन्छन्, ‘विभिन्न देशहरूमा भएका ड्यामको वातावरणीय पक्ष र निर्माणका विभिन्न पक्ष अध्ययन गरेर यो परियोजना अघि बढेको हो ।’
२०७२ को भूकम्पपछि पनि बाँध निर्माण स्थलको भौगर्भिक अध्ययन भएकाले अझै पनि वातावरणीय पक्षमा हुनसक्ने त्रुटि हेरफेर गर्न सकिने उनको तर्क छ ।
राजधानीमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै सङ्घीय सांसद विराजभक्त श्रेष्ठ, वातावरणविद्हरू शैलेन्द्र पोखरेल, डा.नरेन्द्रमान श्रेष्ठ, रवि शर्मा, बाबुकृष्ण कार्कीलगायतले वातावरणीय पक्ष र हिन्दु धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक पाटोलाई ठेस पुग्ने गरी यस्ता परियोजना निर्माण गर्न नहुने धारणा राखे ।
बाँध विस्फोट र त्यसपश्चात् निम्तिने सम्भावित जनधनको क्षतिबारे विभिन्न देशका घटनाहरूलाई पनि मनन् गर्नुपर्ने उनीहरूको सुझाव छ ।
कार्यक्रममा समूहका अध्यक्ष रोशनी अधिकारीले विकास गर्दा वातावरणीय भौगोलिक रूपमा अध्ययन गरी दीर्घकालीन असर नपर्ने गरी आयोजनाहरूको विकास गर्नुपर्नेमा समूहको जोड रहेको बताइन् । उनले भनिन्, ‘विकास मुलुकको लागि आवश्यक छ, सरकारले विकास गर्ने बहानामा वातावरणीय क्षति पुर्याउँदै जाने हो भने मुलुक प्राकृतिक श्रोतविहीन हुनसक्छ ।’
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका वार्डेन गणेश पन्तले इआईए प्रक्रियामा धेरै प्रश्नहरू उठिरहँदा संरक्षित क्षेत्रको मूल मर्म मासिनेगरी बाँध निर्माण हुन नहुने धारणा राखे । ‘निकुञ्ज क्षेत्रमा धेरै मानवीय चहलपहल हुनुहुँदैन, क्राउड बढाउने क्षेत्र पनि होइन,’ उनले भने, ‘यसअघि निर्माण भएको धाप ड्यामको प्रभाव मूल्याङ्कनका आधारमा नाग्मतीको प्रक्रिया अघि बढाउनुपर्छ, त्यसका लागि केही वर्ष कुरौँ ।’
