काठमाडौँ : प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि १३ सांसदले लिखित प्रश्न पेश गरेका छन्।
आइतवार बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई सोध्नका लागि १३ जना सांसदले लिखित प्रश्न पेश गरेका संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
प्रश्न सोध्नेमा सत्तारुढ दलका सांसदहरू पनि छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र सांसद किशोरसिंह राठौरले पनि प्रश्न दिएका छन्।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, गोकर्ण विष्ट, रास्वपाका सांसद गणेश पराजुली र राप्रपाका सांसद गीता बस्नेतलगायतले प्रश्न सोध्ने छन्।
फागुन २ गते दिउँसो ३ बजेभित्र संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय समक्ष लिखितरुपमा प्रश्न उपलब्ध गराउन भनिएको थियो।
तेस्रो अधिवेशनको तेस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यक्षेत्रसँग प्रत्यक्षरुपमा महत्वपूर्ण विषयमा जवाफ दिन लागेका हुन्।
