काठमाडौं १२ फागुन/नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौति दिनसक्ने रुपमा नआएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा पर्यो भन्ने भनाइसँग आफू सहमत नरहेको बताए।
उनले सामाजिक सञ्जालबाट गलत सूचना संप्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भइरहेको सत्य भएपनि लोकतन्त्र नै खतरामा भने नपारेको बताए। उनले सामाजिक सञ्जालका गलत सूचनाहरू रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोसिस हुनुपर्नेमा जोड दिए।
उपाध्यक्ष पौडेलले भने, ‘सोसल मिडियाले लोकतन्त्रमा खतरा ल्यायो भन्नेकुरासँग म त्यति धेरै सहमत छैन। यसले मिस कम्युनिकेसनको कुरा गरेको छ, गलत सूचना संप्रेषण भइरहेको छ, समाजलाई गलत गर्ने कोसिस पनि गरिएको छ। तर लोकतन्त्रलाई चुनौती दिनसक्ने तहमा यो आइसक्यो भन्ने मलाई लाग्दैन। लोकतन्त्रलाई चुनौती दिनसक्छ जस्तो लाग्दैन। यद्यपि यसका प्रभावको बारेमा छलफल गर्नुपर्छ। त्यसबाट हामीले हाम्रो सोसाइटीलाई जोगाउने कोसिस गर्नुपर्दछ।’
उनले सामाजिक सञ्जाल, इआई, आइटीको दुरुपयोग हुनसक्ने भए सदुपयोग हुनसक्छ कि सक्दैनरु भनी भन्न प्रश्न गरे। उनले राजनीतिक दलहरू वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा उभिनुपर्ने पनि बताए। कसैले पनि प्रेस स्वतन्त्रतालाई संकुचन गर्नु नहुने उनको भनाइ छ। उनले लोकतन्त्रको प्राण नै आलोचना भएको जिकिर गरे।
