काठमाडौँ : गोरखापत्र अनलाइनले ४१ वटा राष्ट्रभाषाका सामग्री प्रकाशन तथा प्रसारण गर्ने भएको छ।
शनिवार काठमाडौँमा गोरखापत्र संस्थानले मनाएको दोस्रो गोरखापत्र डिजिटल डेको अवसरमा यसबारेमा जानकारी गराइएको हो। कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले प्रविधिको विकाससँगै समयानुकूल बनेर पत्रपत्रिका पनि परिवर्तन गर्नुपर्ने चुनौती पूरा गर्नका लागि गोरखापत्र डिजिटल युगमा प्रवेश गर्ने अभियान शुरु गरेको बताए।
उनले गोरखापत्रलाई स्मार्ट गोरखापत्रमा परिणत गर्दै लगिएको पनि दाबी गरे। उनले गोरखापत्रलाई प्रविधिसँगै समयानुकूल बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए।
कार्यक्रममा बोल्दै गोरखापत्र अनलाइनका संयोजक नारद गौतमले अनलाइन प्रणालीमा रहेका सामग्रीको संकलन अनलाइनमाध्यममै सुरक्षित राख्ने गरी संरचना निर्माण गर्न आवश्यक रहेको बताए। उनले अनलाइनलाई डेटा राख्ने गरी प्रविधिमा रूपान्तरण गर्न लागेको बताए।
उनले गोरखापत्र अनलाइनलाई गोरखापत्र अंग्रेजी, ४१ वटा राष्ट्रभाषा र नेपाली भाषाको एउटा एग्रिकेटेड अनलाइनको रूपमा अघि बढाइएको बताए।
उनले भने, ‘अबको मार्गचित्र हाम्रो सर्भरलाई डिस्ट्रिबिटेट आर्किटेक्चरमा लैजाँदै छौँ। संकलन गर्ने गरी अघि बढ्दै छौँ। हाम्रा डेटा राख्ने गरी प्रविधिमा रूपान्तरण गर्दै छौँ। ४१ राष्ट्रभाषाका सामग्री प्रकाशन गर्न गइरहेका छौँ।’
उनले आगामी दिनमा गोरखापत्र अनलाइन अझ सशक्त बनेर नागरिकका आवाज बुलन्द गर्नेतर्फ अग्रसर हुने बताए।
