काठमाडौं, ६ माघ । स्थानीय तहको निर्वाचनको मिति तय गर्नका लागि भन्दै बोलाइएको सत्तापक्षीय गठबन्धनको उच्चस्तरिय राजनीतिक समन्वय समितिको बैठक स्थगित भयो।
अस्ति बसेको समितिको बैठकले निर्वाचन आयोगले सिफारीस गरेबमोजिमनै वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने र आज पुनः बैठक बसेर मिति तय गर्ने भनिएको थियो । तर सत्तापक्षीय गठबन्धनको मिति तय गर्ने भनिएको बैठक स्थगित हुनुको कारण गठबन्धनकाबीचमा देखिएको स्थानीय तहको निर्वाचन सम्बन्धीको मतान्तर नै हो ।
गठबन्धनका माओवादी, नेकपा एकीकृत समाजवादी, जसपाले स्थानीय तहको निर्वाचन चाडै चाहँदैनन्। त्यसो त, माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिला संसदीय चुनाव हुनु पर्ने र स्थानीय तहको निर्वाचन आगामी कात्तिकमा गर्ने प्रस्ताव राखेपछि गठबन्धन भित्रको चुनावी बहस थप जटिल भएको आँकलन सहर्ज गर्न सकिन्छ।
फलस्वरुप राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको आशंका गर्न गाह्रो पर्दैन। त्यसमाथि कांग्रेस महामन्त्री गगनकुमार थापाको बिहिबारको ट्विटले पनि स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने गठबन्धन भित्रैबाट चलखेल सुरु भएको प्रष्टै पार्छ। स्थानीय तहलाई रिक्त राख्ने निर्णय किमार्थ सम्भव नहुने भन्दै थापाले संविधानतः कांग्रेस अगाडी बढ्ने निर्णय ट्विट मार्फत सुनाइदिएका छन्। ‘हामिले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तता कल्पनानै गरेको छैन’ उनले लेखेका छन् ‘अतःनिर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ ।’
माओवादी अध्यक्ष दाहालको नयाँ प्रस्ताव पछि कांग्रेस महामन्त्री थापाको यो सन्देशले स्थानीय तहको वैधानिकता कायम गरिनु पर्नेमा मात्रै जोड दिएको छैन, सत्तारुढ गठबन्धनको आयु माथि पनि गम्भिर प्रश्न उठाईदिएको छ। त्यसोत, महामन्त्री थापाले यसअघि नै कांग्रेस आगामी निर्वाचनमा एक्लै भिड्ने बताउँदै आएका छन् ।
थापाको बिहिबारको ट्विटले झन गठबन्धन भित्र देखिएको विमतीलाई प्रष्ट पारिदिएको छ। स्थानीय तहको निर्वाचन समयमै नगराउने माओवादी नियतमाथिको गगनको प्रश्नले माओवादीलाई संविधानको बाटोमा हिँड्न सुझाव दिएको छ। अन्यथा कांग्रेसलाई असंवैधानिक कदम सैह्य नहुने आशयको थापाको अभिव्यक्तिले पनि कांग्रेस गलत यात्राको साक्षी बन्न नसक्ने संकेत गरिरहेको छ।
स्थानीय तहमा जनप्रतिनिधि रिक्तताको अवस्था आउन नहुने भन्दै ट्वीट गरेका थापाले निर्वाचन आयोगले गरेको सिफारीसकै अवधि वैशाखमा निर्वाचन हुनुपर्नेमा संकेत गरेका छन्। तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगाएत गठबन्धनमा रहेका अन्य दलका नेताहरु भने तत्कालै स्थानीय तहको निर्वाचन हुन नहुने पक्षमा छन्। गठबन्धनको आयूको निर्णायक बनेको कांग्रेसभित्र चुनावमा गठबन्धन कायम हुन नहुने भन्दै उठेको एकधारको आवाजका कारण दाहाल लगाएत गठबन्धनमा आवद्ध दलका नेताहरु झस्कीईरहेका छन्।
त्यसो त, कांग्रेस महामन्त्री थापाले प्रचण्डकै प्रस्तावलाइ अस्विकार गर्दै स्थानीय तहको निर्वाचनबाट ‘दायाँबायाँ’ हुन छुट नभएको भन्दै अभिव्यक्ति दिएपछि प्रचण्डलाई थप झस्काइदिएका छन्। यति मात्रै हैन, प्रचण्डको प्रस्ताव र कांग्रेस महामन्त्रीको अभिव्यक्तिले गठबन्धनभित्र चिसो बढ्ने सहजै अनुमान गर्न सकिन्छ। अनि गठबन्धन भत्कने सम्भावित खतरा नकार्न पनि सकिन्न।
