काठमाडौं । सुनचाँदी व्यवसायीहरूले विशाल बजारमा रहेको रिद्धिसिद्धि ज्वेलरी हाउसका सञ्चालक नरेन्द्रकुमार गुप्ताका गतिविधिको छानबिन गर्न माग गरेका छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको आज बसेको संयुक्त भेलाले गुप्ताका गतिविधिको छानबिन गर्न माग गर्ने निर्णय गरेको हो ।
गुप्ता नेपाल रत्न तथा आभुषण संघ काठमाडौंका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।
विज्ञप्तिमा वीरगन्ज ठेगाना भएको 'रेस खबर' नामक अनलाइन पत्रिकाले गुप्तालाई स्रोत व्यक्तिको रूपमा उल्लेख गरेर भ्रामक समाचार सम्प्रेषण गरिरहेको उल्लेख छ । जसबाट निरन्तररूपमा गहना व्यवसायीका प्रतिष्ठित संस्था र व्यक्तिको प्रतिष्ठामा आँच पुर्याउने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
'रेस खबर'ले गुप्ताको मुखपत्रको रूपमा भ्रामक समाचार सम्प्रेषण गरिरहेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले सबै गहना व्यवसाय र व्यवसायीहरूको भविष्य ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्ण कामहरू भइरहेको बताएका छन् ।
उनीहरूले गुप्ता र 'रेस खबर'का 'भ्रामक र लान्छनायुक्त' गतिविधिलाई चिर्दै सत्यतथ्य सार्वजनिक गर्ने पनि निर्णय गरेको बताएका छन् ।
"श्री रिद्धिसिद्धि ज्वेलरी हाउसका सञ्चालक गुप्ता नितान्त विवादास्पद पृष्ठभूमिका व्यक्ति भएकाले आफ्ना रहस्यमय सम्पूर्ण गतिविधिहरू छानबिनको दायरामा पर्ने भयले त्रसित र आतंकित भई नियामक निकायको ध्यान अन्यत्रै मोड्ने दुरासयले त्यस्ता भ्रामक र निराधार आरोप लगाई नियामक निकायमा उजुरीसमेत दिएको बुझिन आएको छ," विज्ञप्तिमा भनिएको छ ।
गुप्ताले साना व्यवसायीको सुनको कोटा दुरुपयोग भएको बताउँदै आएका छन् ।
