काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को ओझ र गरिमा घटेको बताएका छन्।
मंगलवार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संघीय संसदको ओझ र गरिमा घटेको बताए।
उनले संसदमा चयन हुने शब्द र वाक्यहरु संसदको ओझ र गरिमा अनुसार हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए।
उनले संसदमा बोलेको कुराहरुको अदालतमा मुद्दा समेत नलाग्ने विशेषाधिकार भए पनि संसदको त्यो प्रकारको गाम्भिर्यता कायम हुन नसकेको बताए।
माओवादी केन्द्रका प्रवक्ता समेत रहेका उनले सुशासनको शक्तिशाली सन्देश संसदबाटै प्रवाह हुनुपर्नेमा जोड दिए।
संसद्को गरिमा कायम नहुनुमा आफूले संसदको नेतृत्व र सांसदहरुलाई भने दोष नदिने स्पष्ट परे। उनले विचारको रिक्तता र शुन्यताका कारण संसदको लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको बताए।
विचारको शुन्यताका कारण संसदको मात्र नभइ पार्टीहरु र सिंगो राष्ट्रकै लोकतन्त्रिक अभ्यास कमजोर भएको उनको भनाइ थियो।
