तुलसीपुर, २२ फागुन । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले पश्चिम दाङमा विकासको आधार तयार भएको बताएका छन् । शान्तिनगर गाउँपालिका भित्रका सहीद, वेपत्ता परिवार तथा घाइतेहरुको सम्मान कार्यक्रममा प्रदेश अर्थमन्त्री मास्कीले पश्चिम दाङमा एकै पटक ९ वटा पुल निर्माणका लागि प्रक्रिया अघि बढेको भन्दै केही समयमा यसले परिणाम देखाउने बताए ।
केही पुलमा टेन्डर भइसकेको र केही पुलमा टेन्डर प्रक्रिया अघि बढेको उनले बताए । साथै उनले माथिल्लो सडक स्तरबृद्धिको प्रक्रिया पनि अघि बढेको बताए । गाउँ–गाउँमा सडक, खानेपानी, सिंचाई, स्वास्थ्य, शिक्षाका योजनाहरु पनि धमाधम निर्माण भइरहेको भन्दै यो विकासको जग रहेको बताए । यही जगमा टेकेर पश्चिम दाङलाई विकसित दाङ बनाउने अभियानमा आफू रहेको मन्त्री मास्कीको भनाई छ ।
नेकपा माओवादी केन्द्र शान्तिनगरको आयोजनामा भएको कार्यक्रममा उनले यस्तो बताए । साथै माओवादी केन्द्र बबईले आयोजना गरेको कार्यक्रममा पनि सहीद, घाइते तथा वेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।
