काठमाडौं, ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्तावले राजनीतिक अन्यौलता बढ्ने बताएका छन्। आइतबार समसामयिक राजनीतिक विषयमा वक्तव्य जारी गर्दै स्थानीय तहको निर्वाचन समयमै गर्न माग समेत गरेका छन्।
अहिले ‘अर्ली इलेक्सन’को कुरा गर्नेहरुले गतवर्ष आफूले ताजा जनादेशका लागि प्रस्ताव गर्दा सडकमा गरिएको प्रदर्शन र विरोधप्रति क्षमायाचना गर्नु पर्ने ओलीको भनाइ छ। उनले वक्तव्यमा भनेका छन्, ‘नेपालको संविधानले स्थानीय तहको पद रिक्तताको परिकल्पना गरेको छैन, त्यसैले स्थानीय तहको निर्वाचन सार्ने कुनै पनि बहाना हामीलाई स्वीकार्य छैन’।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन गराउनुपर्ने संविधान र कानुनको मर्मलाई पालना नगरेर सत्ता गठबन्धनले निर्वाचन पर धकेल्ले प्रपञ्च गरिरहेको आरोप लगाएका छन्।
उनले कोभिड १९ रोकथाममा संलग्न अग्रपङ्गतिका राष्ट्र सेवकलाई जोखिम भत्ता दिन, प्रतिबद्धताबमोजिम सबैलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन, हराएको भनिएको २४ लाख मात्रा खोपको विवरण सार्वजनिक गर्न, ललिता निवास जग्गा अनियमितता प्रकरणका दोषीलाई उन्मुक्ति नदिन आग्रह समेत गरेका छन्।
