• ट्रेण्डिङ्ग :
गुठी विधेयक ल्याउन माग गर्दै स्वर्गद्वारी गुठी पीडित किसानका अगुवाहरु राजधानीमा

गुठी विधेयक ल्याउन माग गर्दै स्वर्गद्वारी गुठी पीडित किसानका अगुवाहरु राजधानीमा


  • 4.2K
    SHARES
    • चैत्र ४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.5K Views

    गुठी विधेयक ल्याउन माग गर्दै स्वर्गद्वारी गुठी पीडित किसानका अगुवाहरु राजधानीमा

    काठमाडौं, ४ चैत/झण्डै एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिका अगुवाहरु तत्काल गुठी विधेयक ल्याउन माग गर्दै काठमाडौं आइपुगेका छन् । उनीहरुले आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्मा, नेकपा एमालेका महासचिव शंकर पोख्रेल र नेपाली कांग्रेसका नेता एवं दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरीसँग भेटघाट गरेका छन् ।

    images

    स्वर्गद्वारी गुठीको जग्गा सदियौंदेखि जोतभोग गर्दै आए पनि स्वामित्व पाउन नसकेको भन्दै उनीहरुले फागुन ८ गतेदेखि दाङमा आन्दोलन गर्दै आएका छन् । किसानहरुको आन्दोलनपछि सरकारले गुठी पीडित संघर्ष समितिसँग वार्ता गर्न फागुन १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा फागुन २० गते वार्ता टोलीले दाङमै प्रारम्भिक छलफल गरी पन्ध्र दिनभित्र प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गरेको थियो । समितिले दिएको सो समय सकिन थालेकाले आफूहरुका मागप्रति सरकारलाई थप संवेदनशील बनाउन काडमाडौं आएको गुठी पीडित संघर्ष समितिका अगुवा प्रवीण दहित थारुले जानकारी दिनुभयो ।

    अर्का अगुवा लालबहादुर चौधरीले अघिल्लोपटक आफूहरुले प्रधानमन्त्रीसँग भेट गरी तत्काल गुठी विधेयक ल्याउन माग गरेको तर आफूहरुको मागअनुसार विधेयक नआएकाले दाङमा आन्दोलन गर्नुपरेको उल्लेख गर्दै अब समस्या समाधान नहुँदासम्म आन्दोलन नरोकिने बताउनुभयो । संघर्ष समितिका पदाधिकारी तथा दाङका आएका राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफलमा सञ्चारमन्त्री शर्माले किसानका मागमा सरकार गम्भीर रहेकाले जतिसक्दो चाँडो कानुन बनाएर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । किसानहरुले जोतभोग गरेको जग्गाको स्वामित्व पाउनुपर्ने र त्यसका लागि स्वर्गद्वारी गुठी पनि तयार नै रहेको तर यसमा २०६२ मा गरिएको सर्वोच्च अदालतको आदेशले समस्या सिर्जना गरेको उल्लेख गर्दै मन्त्री शर्माले अब नयाँ संविधानले प्रदत्त गरेको नागरिकको आवासको हकमा टेकेर नयाँ कानुन बनाई समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

    यसबीचमा मन्त्रिमण्ड हेरफेरका कारण केही समय लागेको जानकारी दिंदै मन्त्री शर्माले भोलि नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र किसान अगुवाहरुको बीचमा छलफल गरेर अघि बढ्ने तय भएको जानकारी दिनुभयो । किसानहरुले आन्दोलन सुरु भएपछि यसलाई प्राथमिकतामा राखेर मन्त्री शर्माले यो एजेण्डा मन्त्रिपरिषद् बैठकमा उठाउँदै वार्ता समिति गठन गरी समस्या समाधानका लागि पहल गर्दै आउनुभएको छ ।  आइतवार राजधानीमा भएका विभिन्न छलफलमा गुठी पीडित संघर्ष समितिका पदाधिकारीसहित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य, नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, नेपाली कांग्रेसका राजु आचार्य लगायतको उपस्थिति रहेको थियो ।


    तेस्रो आँखा