काठमाडौं १० माघ । गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुले आफुहरुले पठाएको प्रतिनिधि (डेलिगेट्स) सूचीलाई नै मान्यता दिइनु पर्ने माग गरेका छन्।
ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन) द्वारा आइतबार आयोजित बहस शृंखलामा बोल्दै एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले ६५, २५ र १० प्रतिशत डेलिगेट्सको कुरा विशेष अधिवेशनबाट ल्याइएपछि यो विवाद शुरु भएको बताए।
‘विधानको भावनालाई कदर गर्ने हो भने नयाँ निर्वाचित अध्यक्षले नै डेलिगेट्स नामावली पठाउनु पर्छ । प्रमुख संरक्षक शेष घलेले एनसीसी अध्यक्षहरुको भेला गरेर सल्लाह सुझाव र राय लिएर अबको डेलिगेट्सहरु अहिले हामी नयाँ निर्वाचित अध्यक्षहरुबाट मागेर चुनाव गराइयो भने त्यो ताजा र सर्वमान्य चुनाव हुन सक्छ । ६५,२५ र १० प्रतिशतको लिष्टमा पहिला पठाइएको छ । यो त ६ महिना भन्दा पनि बढी भइसक्यो । कतिपय कुराहरु परिवर्तन भइसक्यो होला । त्यसले गर्दा फ्रेस्ली इलेक्टेडबाट सबै २५, ६५ र १० प्रतिशत डेलिगेट्स माग गरियोस् हामी विधानसम्मत तरिकाले सम्पूर्ण सूची पठाउन तयार छौं,’ सुवेदीले भने।
एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगरले एनसीसी युकेले विधानसम्मत हिसाबले डेलिगेट्सहरुको नाम पठाएकाले त्यसलाई जस्ताको त्यस्तै मान्यता दिइनु पर्ने बताए। उनले सात महिना पहिला पठाएको डेलिगेट्सहरुको इमेल लगायत अन्य सूचना फेरबदल भएको हुनसक्ने भएकाले सबै नवनिर्वाचित एनसीसीहरुलाई नयाँ डेलिगेट्स सूची पठाउन भन्नु पर्ने बताए। उनले एनसीसीहरु सक्षम छन् भन्दै एनसीसीहरु मिलेर राम्रो आइसीसी बनाउन सक्ने विश्वास व्यक्त गरे।
एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले प्रतिनिधि छनोटबारे अष्ट्रेलियामा कुनै विवाद नरहेको तर केन्द्रले नै विवाद सिर्जना गर्न खोजेको जनाए। उनले पंजीकृत सदस्य संख्याको आधारमा एनसीसीहरुलाई डेलिगेट्स चयन गर्न दिनु पर्ने बताउंदै एनसीसी अष्ट्रेलियाको हकमा पंजीकृत सदस्य संख्या अनुरुप डेलिगेट्स नदिएर अन्याय गरिएको गुनासो गरे। अध्यक्ष गुरुङले आइसीसीले असल नियतले संरक्षक परिषदलाई सघाउनु पर्ने बताए।
एनसीसी क्यानडाका अध्यक्ष दिपक गौतमले विधानको आफु अनुकूल व्याख्या गरिएको र डेलिगेट्स छनोटबारे आइसीसीको व्यवहारमा एकरुपता नभएको जनाए। अध्यक्ष गौतमले अहिले देखिएको डेलिगेट्स समस्या नीतिको कार्यान्वयनमा एकरुपता नभएकाले आइसीसीबाटै शुरु गरिएको जनाए। उनले समयमा निर्वाचन नगर्दा संघको छवि गिर्दै गएको भन्दै संरक्षक परिषदलाई सघाएर निर्वाचनमा जानु पर्ने सुझाव दिए।
एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीले निवर्तमान कमिटीले एकपक्षीय ढंगले ६५ प्रतिशत डेलिगेट्स छनोट गरेकाले समस्या देखिएको बताइन्। एनसीसी जापानकी कार्यवाहक अध्यक्ष अनिता गुरुङ, एनआरएन जर्मनीका राजेश लाल श्रेष्ठ, अमेरिकाज क्षेत्रका उपक्षेत्रीय संयोजक राम चन्द्र पोखरेल लगायतका वक्ताले नवनिर्वाचित एनसीसीहरुको भावनाको सम्मान गरेर मात्रै अगाडी बढ्नु पर्ने धारणा व्यक्त गरेका थिए।
गत अक्टोबर महिनामा तोकिएको दशौँ महाधिवेशन तथा चुनाव हुन नसके पछि प्रतिनिधि विवाद समाधान गरी महाधिवेशन र चुनाव गराउन अहिले संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले काम गरिरहेको छ।
