• ट्रेण्डिङ्ग :
बैतडीमा कोदालो प्रहार : एकको मृत्यु, दुई कर्मचारीको हेलिकप्टरबाट उद्धार

बैतडीमा कोदालो प्रहार : एकको मृत्यु, दुई कर्मचारीको हेलिकप्टरबाट उद्धार


  • 2.5K
    SHARES
    • चैत्र ८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.9K Views

    बैतडीमा कोदालो प्रहार : एकको मृत्यु, दुई कर्मचारीको हेलिकप्टरबाट उद्धार

    बैतडी, ८ चैत । बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्यु भएको हो । कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीको उपचारको लागि स्थानीय स्वास्थ्यचौकीमा पुर्याउँदा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

    images

    यस्तै गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका– ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र  डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । कलौनी र भट्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । 

    आज बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरी बसेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार गरेको जनाइएको छ । किसनले कोदालो प्रहार किन गरे भन्नेबारे खुल्न सकेको छैन । कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । 


    तेस्रो आँखा