दाङ, २८ चैत । दाङको घोराही उपमहानगरपालिका वडा नं. ७ सौडियारस्थित मावि सौडियारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्नो छोराछोरीलाई सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको छ । यही शैक्षिक सत्रदेखि सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई अनिवार्य सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको हो ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरुको आज भएको सामुहिक छलफलमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पढाउने निर्णय गरेका हुन् । छलफलकाक्रममा बिब्यस अध्यक्ष निशानदाजु भट्टराईले शिक्षक र कर्मचारीकै छोराछोरी बाहिर निजी विद्यालयमा पढ्न जाँदा विद्यालयको शैक्षिक अवस्थासहित गुणस्तरबारे नकारात्मक सन्देश बाहिर जाने भन्दै यसमा सबै सजग हुनु पर्ने बताए । आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएर अरुका छोराछोरी सरकारी सामुदायिक विद्यालयमा पढाउनु भन्दा शिक्षक, कर्मचारी, विब्यस र शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्यहरुले नैतिक प्रश्नको सामना गर्नुपर्ने भएकाले यो बारेमा गम्भिर हुन आग्रह अध्यक्ष भट्टराईको थियो ।
त्यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले नयाँ शैक्षिक शत्रलाई विद्यालयको मुहार फेर्ने वर्षकारुपमा लिई सामुहिकरुपमा अघि बढ्नु पर्ने बताए । उनले आफ्नो छोरीलाई निजी बोर्डिङमा पढाउन सक्ने आफ्नो राम्रो आर्थिक अवस्था हुँदा हुँदै पनि विद्यालयको शैक्षिक अवस्था माथि उठाउन मावि सौडियारमा भर्ना गरेको र आफुले बालवालिका पढाउदा समुदायका अन्य ब्यक्तिले पनि बिश्वास गरेर बालवालिका पढाउने आधार तय गर्न भुमिका खेलेको चर्चा गरे ।
अंग्रेजी मिडियममा विद्यार्थीको आकर्षण बढेकाले यसलाई थप ब्यवस्थित बनाउदै लैजानु पर्ने भन्दै शिक्षक र कर्मचारीले अनिवार्य रुपमा आफ्ना बालबच्चा विद्यालयमा पढाउनु पर्ने बताए । विद्यालयका निमित्त प्रधानाध्यापक नन्दबहादुर वलीले शिक्षक र कर्मचारीका छोराछोरीले सामुदायिक विद्यालयमा पढाउदा सकारात्मक सन्देश प्रवाह हुने भन्दै यसलाई कार्यान्वयनमा लैजाने बताए । उनले भर्ना अभियानको क्रममा गाडिको सुबिधा लिने विद्यार्थीहरुको तथ्याङ्क संकलन गरिने भन्दै गाडिको सुविधा आउनासाथ आफ्नो बालवालिका मावि सौडियारमा पढाउने प्रतिबद्धता ब्यक्त गर्दै विद्यालयमा कार्यरत अन्य शिक्षक र कर्मचारीलाई बालवालिका विद्यालयमा अनिवार्यरुपमा पढाउन आग्रह गरे ।
त्यस्तैगरी शैक्षिक सत्र २०८१ मा प्ले ग्रुपदेखि कक्षा ९ सम्म नयाँ भर्ना खुलेको निमित्त प्रअ वलिले जानकारी दिए ।
अघिल्लो वर्षदेखि क्रमश शैक्षिक सुधारका अभियान सञ्चालन हुँदै आएको र कक्षा उन्नती प्रकृया (परीक्षामा स्वतः पास हुने अवस्था) अहिलेदेखि रोकिएको पनि शिक्षक अभिभावक संघका अध्यक्ष कुवरले बताए ।
अन्य सरकारी विद्यालयहरु भन्दा फरक तरिकाले अध्यापन तथा व्यवस्थापन गरेकाले पनि यो वर्ष विद्यार्थी थपिने निमित्त प्रअ वलीले विश्वास ब्यक्त गरे । नयाँ शैक्षिक शत्रलाई लक्षित गरेर गणित र विज्ञानलाई लक्षित गर्दै निजी स्रोतमा शिक्षकको विज्ञापन गर्ने र रिक्त लेखापालमा पनि विज्ञापन गर्ने विब्यसले निर्णय गरेको छ ।
साथै विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान सँगसँगै जीवनउपयोगी, व्यवहारिक शिक्षामा समेत ध्यान दिएको वलीको भनाइ छ । सो अवसरमा निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका वलीलाई विब्यस अध्यक्ष भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर, निवर्तमान प्रअ ज्ञानेन्द्र गौतमसहित विब्यस सदस्य, शिक्षक अभिभावक संघका सदस्य, शिक्षक तथा कर्मचारीहरुले सामुहिकरुपमा टिकासहित फुल माला लगाईदिएर बधाईसहित कार्यकाल सफलताको कामना गरेका थिए ।
