दाङ, २ बैशाख । तुलसीपुरको प्रतापकोटमा खैराबाङ देवी भगवतीको मन्दिर निर्माण गरिएको छ । साँस्कृतिक पहिचान र पर्यटन विकासका लागि करिब लगानीमा मन्दिरको निर्माण गरिएको हो । मन्दिरको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले गर्नुभयो ।
मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर खड्काले प्रतापकोटलाई तुलसीपुरको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आफू प्रतिवद्व भएको बताउनुभयो ।
वडा नम्वर ३ का वडाध्यक्ष बिजय विकले प्रतापकोटको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
मन्दिर निर्माणका लागि पर्यटन मन्त्रालयले ७ लाख ५० हजार बजेट दिएको थियो भने स्थानीयले ७४ हजार १ सय ५५ रूपैयाँ बराबरको श्रमदान गरेका छन् । मन्दिरमा पञ्च धातुबाट निर्मित मुर्ती राखिएको छ ।
खैराबाङ देवी भगवतीको मुर्ती निर्माणका लागि दाताबाट ६ लाख बढी रकम संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनिराम रानाले जानकारी दिए ।
