बेगनासमा छैटौँ फिस फेस्टिभल हुँदै, राष्ट्रिय कलाकारदेखि देउसीभैलो प्रतियोगितासम्म

बेगनासमा छैटौँ फिस फेस्टिभल हुँदै, राष्ट्रिय कलाकारदेखि देउसीभैलो प्रतियोगितासम्म


  • 1.8K
    SHARES
    • कार्तिक १३, २०८३ बिहीबार
    • २ दिन अघि
    • 2.8K Views

    बेगनासमा छैटौँ फिस फेस्टिभल हुँदै, राष्ट्रिय कलाकारदेखि देउसीभैलो प्रतियोगितासम्म

    पोखरा । ‘माछाको स्वाद, संस्कृतिको पहिचान, मौलिकताको सम्मान’ भन्ने नारासहित पोखराको बेगनास तालमा छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता आयोजना हुने भएको छ। होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा कात्तिक १३ देखि २३ गतेसम्म पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल क्षेत्रमा महोत्सव सञ्चालन हुन लागेको हो।

    images

    स्थानीय माछाको प्रवर्द्धन, बेगनास क्षेत्रको पर्यटन विकास, मौलिक कला तथा संस्कृतिको संरक्षण र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

    होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेका अनुसार महोत्सवले बेगनास क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरण र होटल तथा रेस्टुरेन्ट व्यवसायको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिले महोत्सवमा रौनक थप्ने

     महोत्सवमा चर्चित लोकदोहोरी कलाकारदेखि आधुनिक तथा पप संगीतका कलाकारसम्मको प्रस्तुति रहनेछ। लोकदोहोरीतर्फ राजु परियार, दीपिका बयम्बु मगर, श्याम राना मगर, पूर्णकला बिसी, ज्योति मगर, सम्झना लामिछाने मगर, पुरुषोत्तम न्यौपाने, विशाल सोनी, अर्जुन सापकोटा र शान्तिरानी परियारलगायत कलाकारले प्रस्तुति दिने कार्यक्रम रहेको छ।

    त्यसैगरी, अर्को सांगीतिक कार्यक्रममा भ्योमा, जीबब (GBOB), माइला, एलीना चौहान, हाउडे माया, हिमाल सागर, रमेशराज भट्टराई, सहिमा श्रेष्ठ तथा द कोरस नेपाललगायत कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ।

    विभिन्न विधाका कलाकारहरूको सांगीतिक प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने र स्थानीय बासिन्दासँगै पोखरा तथा आसपासका क्षेत्रबाट आउने दर्शक र पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

    स्थानीय माछाका परिकारदेखि बोटिङसम्मको आकर्षण

    महोत्सवमा बेगनास क्षेत्रमा उत्पादन हुने विभिन्न प्रजातिका माछा तथा माछापालनसम्बन्धी जानकारीमूलक प्रदर्शनी गरिनेछ। साथै, स्थानीय माछाका विभिन्न परिकारको बिक्री तथा प्रदर्शनी, व्यापारिक मेला र विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी तथा बिक्रीसमेत गरिनेछ।

    महोत्सवमा सहभागी हुने दर्शकले माछाका स्वादिष्ट परिकारको स्वाद लिनुका साथै बेगनास तालमा बोट तथा मोटरबोट सयरलगायत मनोरञ्जनात्मक गतिविधिको आनन्द लिन सक्नेछन्।

    बेगनास ताल आसपासका पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकको भनाइ छ। यसबाट स्थानीय होटल, रेस्टुरेन्ट तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

    देउसीभैलो संस्कृतिको संरक्षणमा जोड

     तिहारको अवसर पारेर आयोजना हुन लागेको महोत्सवमा देउसीभैलो प्रतियोगितालाई विशेष महत्त्व दिइएको छ। पछिल्लो समय मौलिक देउसीभैलो संस्कृतिमा परिवर्तन आइरहेको अवस्थामा परम्परागत नेपाली गीत, संगीत र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

    कृषि, पर्यटन र शैक्षिक संस्थालाई जोड्दै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्ने तथा नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग परिचित गराउने लक्ष्यसमेत महोत्सवले लिएको छ।

    महोत्सवले स्थानीय माछाका विभिन्न प्रजातिलाई ब्रान्डका रूपमा विकास गर्न, परम्परागत नेपाली गीत–संगीतको प्रवर्द्धन गर्न र स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कोभिडपछि पुनः सञ्चालनमा छैटौँ संस्करण
    बेगनास फिस फेस्टिभलको सुरुआत वि.सं. २०७१ सालमा भएको थियो। पाँचौँ संस्करणपछि कोभिड–१९ का कारण लामो समयसम्म आयोजना हुन नसकेको महोत्सव अहिले छैटौँ संस्करणका रूपमा पुनः सञ्चालन हुन लागेको हो। यसपटकको महोत्सवलाई स्थानीय उत्पादन, पर्यटन, सांस्कृतिक गतिविधि र व्यावसायिक अवसरलाई एउटै थलोमा जोड्ने अवसरका रूपमा हेरिएको छ।
    महोत्सवबाट बचत भएको रकम तालबराही मन्दिर, गोरखनाथ मन्दिर तथा बेगनास ताल क्षेत्रको विकासमा खर्च गर्ने योजना रहेको आयोजकले जनाएको छ।

    करिब ८२ लाख रुपैयाँ खर्च हुने अनुमान

    एसोसिएसनकी सचिव शक्ति श्री कोइरालाका अनुसार महोत्सव सञ्चालनका लागि करिब ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महोत्सवको खर्च व्यवस्थापन पोखरा महानगरपालिका, वडा कार्यालय, नेपाल पर्यटन बोर्ड, टिकट बिक्री तथा स्टलबाट प्राप्त आम्दानीलगायत स्रोतबाट गरिने जनाइएको छ। महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, गोर्खा ब्रुअरी नेपाललगायत सरकारी तथा निजी क्षेत्रका निकायको सहयोग रहने आयोजकले जनाएको छ।
    स्थानीय माछाको प्रवर्द्धन, सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन विकास र स्थानीय व्यवसायको विस्तारलाई प्राथमिकतामा राखिएको छैटौँ बेगनास फिस फेस्टिभलले बेगनास क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।


    तेस्रो आँखा