उपल्लो मुस्ताङमा भारी हिमपात

उपल्लो मुस्ताङमा भारी हिमपात


  • 1.0K
    SHARES
    • कार्तिक १५, २०८३ शनिबार
    • १७ घण्टा अघि
    • 1.6K Views

    उपल्लो मुस्ताङमा भारी हिमपात

    मुक्तिनाथ, कात्तिक १४ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपास क्षेत्रका सामान्यदेखि भारी हिमपात भएको हो ।

    images

    पश्चिमी वायुको आंशिक प्रभावसँगै तिब्वतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, लोमन्थाङको बस्तीमा हिमपात भइरहेको छ । उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो ।

    एक्याप प्रमुख पौडेलले भन्नुभयो, ‘‘लोमान्थाङ बजारमै हिमपात भइरहेको छ, चिसो बढेको छ, पर्यटकलाई यात्रा नगर्न अनुरोध गरेका छौ ।’’ 

    सदरमुकाम जोमसोमदेखि लोमान्थाङ जोड्ने सडक खण्डमा समेत हिमपात भइरहेकाले उपल्लो मुस्ताङ जाने पर्यटकले सतर्कता अपनाउन अनुरोध गरिएको छ । लोमन्थाङदेखि कोरला जोड्ने सडकमा सवारीसाधन आवत–जावतमा कठिनाइ भएको छ । 

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तल्लो मुस्ताङमा बर्षासँगै उच्चद लेकका डाँडाकाँडा सेताम्मे भएका छन् । मुस्ताङ भ्रमणमा रहेका पर्यटकलाई समेत अनुकूल मौसम नहुदाँसम्म पर्यटकीयस्थलमा नजान अनुरोध गरिएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ ।

    पश्चिमी वायुको आंशिक प्रभावसँगै स्वचालित मौसम मापन केन्द्रका अनुसार मुस्ताङमा मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको पोखराका अनुसार शनिबार दिनभरी वर्षाको सम्भावना छ । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाको विशेष मौसमी बुलेटिनमा चक्रवात ‘अर्णव’ को प्रभाव पर्ने जिल्लामा मुस्ताङ समेत रहेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोख्रेलले हालसम्म हिमपात र वर्षाका कारण पर्यटकलाई समस्या भएको जानकारी नआएको बताउनुभयो ।

    मुस्ताङसँग सिमाना जोडिएको म्याग्दी, मनाङ, डोल्पाको पदयात्रा गर्ने रुटमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सुरक्षा निकाय, एक्यापलाई समेत अर्लट रहन अनुरोध गरिएको छ । शनिबार बिहानसम्म कालिगण्डकी करिडोर अन्तरगत बेनी–जोमसोम–कोरलासहित जिल्लास्थित ग्रामीण सडक सुचारु रहेको छ । 


    तेस्रो आँखा