काठमाडौं । वर्षभरि सर्वसाधारणका लागि बन्द रहने काठमाडौंको हनुमानढोका दरबारस्थित तलेजु भवानीको मन्दिर बडादसैंको महानवमीका दिन खुला गरिएकाे छ ।
मन्दिर खुल्ने दिन देवीको दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्दछ। राजा महेन्द्र मल्लले सन् १५६४ मा निर्माण गराएको मानिने यो मन्दिर मल्लकालीन वास्तुकला र धार्मिक परम्पराको महत्त्वपूर्ण धरोहर हो। तलेजु भवानी मल्ल राजाहरूकी इष्टदेवी तथा कुलदेवीका रूपमा पुजिन्छिन्।
काठमाडौंसँगै भक्तपुर र पाटनका प्राचीन दरबार क्षेत्रमा पनि तलेजु भवानीको मन्दिर रहेको छ। इतिहास तथा जनश्रुतिअनुसार, सिम्रौनगढका राजा हरिसिंहदेवसँग जोडिएको परम्परामार्फत तुलजा (तलेजु) भवानी नेपाल उपत्यकामा भित्रिएकी हुन्।
पछि देवीलाई तलेजु भवानीका नामले पुज्न थालिएको जनविश्वास छ। दसैंका अवसरमा मन्दिरमा विशेष पूजाअर्चना गरिन्छ। सप्तमीका दिन देवीलाई मूलचोकमा विराजमान गराउने तथा महानवमीमा विशेष पूजा गर्ने परम्परा छ।
महानवमी र कालरात्रि पूजाका अवसरमा ५४ राँगा र ५४ बोकाको बलि दिने चलनसमेत छ। तलेजु भवानीको परम्परा जीवित देवी कुमारीसँग पनि सांस्कृतिक रूपमा जोडिएको छ।
तस्बिरहरूः


