• ट्रेण्डिङ्ग :
घर खरानी भएपछि बिचल्ली

घर खरानी भएपछि बिचल्ली


  • 4.0K
    SHARES
    • बैशाख १०, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.2K Views

    घर खरानी भएपछि बिचल्ली

    अर्घाखाँची, १० वैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै हुनुहुन्थ्यो । शनिबार लागेको आगोेले उहाँको घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि उहाँलगायत टोलका १६ परिवारको बिचल्ली भएको छ । 

    images


    “घर एक्कैछिनमा खरानी भयो । गाँसबासको टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने”, आँशु झार्दै मल्लले भन्नुभयो । स्थानीय गङ्गाबहादुर विकको पनि मल्लको जस्तै पीडा छ । “घरमा रहेको गरगहना, अन्न कपडा, लालपुर्जा, नागरिकता सबै जलेर नष्ट भयो”, उहाँले भन्नुभयो, “घरमा रहेका कुनैपनि वस्तु बचाउन सकिएन ।” 

    बसन्ता र गङ्गाबहादुर मात्र हैन धारापानीमा शनिबार आगलागीमा परेर घर जलेका १३ परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । आगोले भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायत गाउँमा आगोले १६ घर र १० गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिनुभयो । बस्तीमा पसेको आगो निभाइए पनि वनमा अझै पूर्णरुपमा निभाउन सकिएको छैन । 

    प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गाउँमै गएर डढेलोले घर गुमाएका परिवारलाई खाद्यान्न सामग्री वितरण गर्नुभएको छ । आगलागीबाट घर नष्ट भएका रातामाटा क्षेत्रका १६ परिवारलाई जिल्ला प्रशासन कार्यालयको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्यान्न सामग्री उपलब्ध गराएको हो । उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले चामल, दाल, तेल, नुनलगायत खाद्य सामग्री वितरण गरिएको बताउनुभयो ।  

    आगोले गाउँनै सखाप भएको छ । जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीबाट ४३ घर गोठ जलेर नष्ट भएका छन् । शनिबार भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनी गाउँपालिकामा  डढेलोले २० घर र २३ गोठ जलेर नष्ट भएका छन् भने ११ बाख्रा र ६ भैँसी मरेका छन् । 


    तेस्रो आँखा