• ट्रेण्डिङ्ग :
कतारी अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक विदा

कतारी अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक विदा


  • 3.0K
    SHARES
    • बैशाख ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.6K Views

    कतारी अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक विदा

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले आज मंगलबारदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । दुईदिने भ्रमणका क्रममा उहाँ मंगलबार अपराह्न काठमाडौं आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images

    राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानुहुने भएको छ । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उहाँको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

    मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो ।नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उहाँको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज नेपालभर सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ । साथै सरकारले कतारसँग हुने द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने निर्णय गरेको छ ।

    कतारी अमिरले आजै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उहाँको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नुहुनेछ । त्यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

    वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनुहुनेछ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल र कतारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

    त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

    कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भएपनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुंगो लागिसकेको छैन् । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

    मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ । कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । कतारका अमिर थानी वैशाख १२ गते नै अपराह्न काठमाडौंबाट प्रस्थान गर्नुहुनेछ ।"

     


    तेस्रो आँखा