• ट्रेण्डिङ्ग :
चार भाषामा नागरिक बडापत्र

चार भाषामा नागरिक बडापत्र


  • 3.9K
    SHARES
    • बैशाख ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.9K Views

    चार भाषामा नागरिक बडापत्र
    लुम्बिनी, ११ वैशाख/बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि उपमहानगरपालिकाले आजदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याएको हो ।
     
    उपमहानगरमा बसोबास गर्नेमध्ये जनसङ्ख्याको अनुपातका आधारमा चार भाषामा तयार गरिएको नागरिक बडापत्र आज एक कार्यक्रमबीच नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक गर्नुभयो । त्यस अवसरमा नगर प्रमुख पाण्डेयले जनसङ्ख्याको आधारमा चार भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरु केही भाषाका बडापत्र राख्ने गरी तयारी भएको जानकारी दिनुभयो । उहाँले स्थानीयस्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञको सङ्लग्नतामा बडापत्र तयार गरिएकोले भूगोलअनुसार भाषामा फरक आउनसक्ने बताउनुभयो ।
     
    उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले सबै जाति भाषा संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले चार भाषामा बडापत्र तयार गरिएको बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८ दशमलव सात, मगर भाषा बोल्ने छ दशमलव आठ, नेपाल भाषा बोल्ने तीन र थारू भाषा बोल्ने चार दशमलव नौ प्रतिशत जनसङ्ख्या छन् ।
     
    बडापत्रको प्रयोगले सेवाग्राहीले आफूले प्राप्त गर्न खोजेको सेवा बडापत्रका माध्यमबाट त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिने छ ।
     
    सो कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने छ । बडापत्रलाई पुस्तकका रुपमा प्रकाशन गरिएको र छिटै नै डिजिटलरुपमा सबै बडामा राख्ने गरी तयारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिनुभयो ।


    तेस्रो आँखा