• ट्रेण्डिङ्ग :
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह


  • 2.7K
    SHARES
    • बैशाख ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.1K Views

    कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
    रुपन्देही, ११ वैशाख/नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ । 
     
    विमानस्थल उद्घाटन भए पनि पूर्णरूपमा सञ्चालनमा नआउँदा आर्थिक गतिविधि बढ्न नसकेको भन्दै सरोकारवालाहरूले कतारका अमिरको भ्रमणका अवसरमा भैरहवा–कतार हवाई उडानका लागि पहल गर्न आग्रह गर्नुभएको हो । 
     
    सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले कतारका अमिरको भ्रमणका क्रममा हुने द्विपक्षीय छलफलमा भैरहवा–कतार हवाई उडान भर्ने विषयलाई प्राथमिकतामा राखेर छलफल गर्न आग्रह गर्नुभयो । 
     
    “भैरहवाबाट कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको उडान भर्न कतारका अमिरको भ्रमण उपयुक्त अवसर हुनसक्छ । त्यसैले यो विषयलाई प्राथमिकताका साथ उठाएर भैरहवा–दोहा उडानका लागि पहल गर्न सरकारसँग हाम्रो आग्रह छ”, श्रेष्ठले भन्नुभयो । 
     
    सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष एवं होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले पनि सरकारले कतारका अमिरको भ्रमणमा भैरहवा–कतार हवाई उडानको प्रस्ताव राख्न आग्रह गर्नुभयो । भैरहवा–कतार उडान भए निजी क्षेत्रमा आशा बढ्नुका साथै भैरहवा आसपासमा आर्थिक गतिविधि बढ्न गई देशलेसमेत उल्लेख्य लाभ लिनसक्ने श्रेष्ठको भनाइ छ । 


    तेस्रो आँखा