काठमाडौं, २० माघ। रामेछापको खाडादेवी गाउँपालिकाले केही दिन अघि सार्वजनिक गरिएको जनसंख्याको तथ्यांकप्रति असहमति जनायो। उक्त गणनामा गाउँपालिकाको वास्तविक तथ्यांक नआएको भन्दै गाउँपालिकाले अहिले आफ्नै तवरबाट गणना सुरु गरिसकेको छ। गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले तेस्रो आँखासँग भने ‘राष्ट्रिय जनगणनाका क्रममा वास्तविक तथ्यांक नआएपछि हामीहरुले फेरी गाउँपालिकाबाट गणना सुरु गरेका छौँ ।’ उनका अनुसार गाउँपालिकाका ९ वटै वडामा गणकहरु खटिएर वास्तविक तथ्यांक संकलनको काम गरिरहेका छन्।
हुन पनि यो गाउँपालिकाको अहिलेको जनगणनाको तथ्यांकलाई हेर्ने हो भने मतदाता भन्दा कुल जनसंख्या कम छ। अध्यक्ष तामाङकाअनुसार यो गाउँपालिकाको कुल मतदाता संख्या २२ हजार एक सय ६० छ। तर राष्ट्रिय जनगणनाका क्रममा गणना गरिएको यो गाउँपालिकाको कुल जनसंख्या जम्मा १९ हजार तीन सय मात्रै देखाइएको छ। ‘मतदाता संख्या भन्दा कुल जनसंख्या तीन हजार भन्दा कम देखियो,’ अध्यक्ष तामाङले भने ‘यो कस्तो गणना हो ? यो गणनामा कुनै पनि सत्यता नभएपछि हामीहरु आफैले फेरी गणना थाल्यौँ ।’ त्यसो त, २०६८ को जनगणनाको तथ्यांक भन्दा अहिलेको तथ्यांक छ हजार भन्दा कम छ।
०६८ मा यो गाउँपालिकाको तथ्यांक २५ हजार सात सय थियो। ‘गाउँपालिकाको कुरा गर्नुहुन्छ भने अहिले विद्यार्थी संख्या पनि बढेको छ, अनि मृत्यु दर पनि घटेको छ, बसाईसराई पनि कम छ’ गाउँपालिका अध्यक्ष तामाङले भने ‘अनि जनसंख्या वृृद्धि र मृत्यु दर कम भैरहेको हाम्रो गाउँपालिकामा कसरी यती ठूलो संंख्यामा जनसंख्या घट्यो?’ दुई वर्ष गाउँपालिकाले आफ्नो तवरबाट जनसंख्या संकलन गरेको थियो। त्यो बेला गाउँपालिकाको जनसंख्या ३३ हजार थियो । ‘हामीहरुले ०७६ मा गरेको गणनामा गाउँपालिकाको जनसंख्या ३३ हजार थियो,’ उनले भने ‘२ वर्ष पछि गरिएको राष्ट्रिय जनगणनामा १४ हजारले जनसंख्या कम देखियो, यो त सरासर असम्भव, र अविश्सनिय तथ्यांक हो।’
अध्यक्ष तामाङकाअनुसार गाउँपालिकाका कैयन स्थानीयहरुले आफू कहाँ गणकहरु तथ्यांक संकलनका लागि नआएको भनेर गाउँपालिकालाई जानकारीसमेत गराएका थिए । ‘धेरै घरमा गणकहरु जनसंख्या गणनाका लागि पुगेकै पनि रहेनछन्,’ उनले भने ‘यो सूचना हामीहरुलाई धेरै स्थानीयहरुले दिनु भयो, अतः गणना गर्न छुटेकोमा हामी कन्फर्म छौँ ।’
सल्यानको दार्मा गाउँपालिकाले पनि तथ्यांक संकलनको काम पुनः गर्ने तयारी थालेको छ। गाउँपालकाका अध्यक्ष निमबहादुर केसीले तेस्रो आँखासँग कुराकानी गर्दै भने ‘यस्तो अविश्सनीय जनसंख्याको तथ्यांकलाई कसरी आधिकारीक मान्ने ?’ उनकाअनुसार गाउँपालिकाका राजनीतिक दल तथा सरोकारवालाहरुसँग सल्लाह गरेर गाउँपालिकाले आफ्नो तवरबाट पुनः गणना गर्ने तयारी थालिएको छ।
२०६८ को गणनाअनुसार यो गाउँपालिकाको तथ्यांक १९ हजार नौं सय ६६ थियो। तर अहिले गरिएको गणनाका क्रममा यो गाउँपालिकाको जनसंख्या जम्मा ३३ जना मात्रै बढेको देखियो। जबकी गाउँपालिकाले दुई वर्ष अगाडी गरेको तथ्यांक संकलनका क्रममा गाउँपालिकाको जनसंख्या २३ हजार चार सय १८ थियो। ‘हामीहरुले दुई वर्ष अगाडि गरेको तथ्यांक संकलनका क्रममा गाउँपालिकाको वास्तविक जनसंख्या २३ हजार चार सय १८ जना थियो,’ गाउँपालिका अध्यक्ष केसीले भने ‘२ वर्ष पछाडी अहिले गरिएको गणनाका क्रममा जम्मा १९ हजार नौं सय ६६ जना मात्रै देखियो, यसलाई कसरी विश्वास गर्न सकिन्छ ?’
१० वर्ष अघि गरिएको जनगणनाका क्रममा देखिएको जनसंख्या भन्दा अहिले जम्मा ३३ जना मात्रै बढि देखिनु अर्को झुट रहेको उनको भनाइ छ। उनकाअनुसार यो गाउँपालिकाबाट बसाईसराई धेरै भएको छैन। मृत्यु दर पनि घट्दो क्रममा छ। ‘तर जनसंख्या बढेको नदेखिनु, उल्टै हाम्रो दुई वर्ष अघि गरिएको गणनामा भन्दा चार हजारले कम देखिनु, यो त विश्वास गर्नै नसकिने कुरा हो’ उनले भने ‘यो झुट तथ्यांकलाई आधिकारीक कसरी मान्ने ?’
मनाङको नार्पा भुमी गाउँपालिकामा पनि कुल मतदाता संख्या भन्दा गाउँपालिकाको जनसंख्या झण्डै ५० प्रतिशतले कम देखियो । यो गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामाकाअनुसार पछिल्लो पटक गरिएको जनगणनाका क्रममा यो गाउँपालिकाको कुल जनसंख्या ४ सय ४२ छ। तर यो गाउँपालिकाको कुल मतदाता संख्या भने सात सय बढि छ। गाउँपालिकाका अध्यक्ष लामाले तेस्रो आँखासँग भने ‘विदेशमा गएकाहरु, अनि कामको शिलशिलामा गाउँपालिका बाहिर वा जिल्ला बाहिर भएकाहरुको गणना नभएकाले मतदाता संख्या भन्दा कुल जनसंख्या कम देखिएको हो।’
लामाले भनेजस्तै अहिलेको जनगणनाका क्रममा रोजगारीको शिलशिलामा देश बाहिर रहेका, जिल्ला बाहिर रहेकाहरुको तथ्यांक गणना भएको छैन । सल्यानको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीकाअनुसार वैदेशिक रोजगारीका लागि बाहिर रहेका, कामका लागि भारत गएका तथा रोजगारीका लागि जिल्ला बाहिर रहेकाहरुको तथ्यांक गाउँपालिकाको जनसंख्याका रुपमा गणना नहुँदा गाउँपालिकाको जनसंख्या कम देखिएको हो।
‘मान्छे रोजगारीका लागि विदेशमा छन्, तर उसको गणना भएकै छैन,’ केसीले भने ‘अनि कामको शिलशिलामा भारतमा रहेका तथा जिल्ला बाहिर रहेकाहरुको पनि गणना भएकै छैन, जनगणनाका क्रममा भएको यो ठूलो गल्तीका कारण जनसंख्यामा कमी देखिएको हो।’ उनकाअनुसार जनसंख्यामा देखिने कमीले विकास निर्माणको अवस्थालाई समेत कमजोर पार्छ। ‘जनसंख्याले सरकरबाट हुने बजेट प्राप्तीमा समे ठूलो असर पार्छ,’ केसीले भने ‘बजेटमा कमी हुँदा स्वाभाविकै रुपमा विकास निर्माणलाई समेत प्रभावित बनाउँछ।’
यसैगरी अहिलेका गणकहरुमासमेत देखिएको कमजोरीले पनि वास्तविक तथ्यांक आउन नसकेको स्थानीय तहका प्रतिनिधिहरु बताउँछन्। ‘पहिला शिक्षहरु गणनामा खटिएका हुन्थे, उनिहरुेले जिम्मेवारी बोध गर्दै वास्तविक तथ्यांक संकलनमा जोड दिन्थे,’ केसीले भने ‘तर अहिले फ्रेस युवाहरु गणनामा खटिए, कतिपयले गणनाको आईडिया समेत पाएको देखिएन, कतिपयले खाली ड्युटी पुरा गर्ने मात्रै सोचेका कारण पनि प्रत्यक घरघरमा उनिहरु पुगेर वास्तविक तथ्यांक संकलन गर्ने काम गरेको पाईएन।’ उनकाअनुसार अहिलेको जनगणनामा मुलतः पहाडी क्षेत्रका अधिकांश स्थानीय तहहरुको जनसंख्या निकै कम देखिएको छ।
