दाङ, २३ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आगामी २९ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी टुंग्याएको छ । उम्मेदवार छनौट गर्न बनेको कार्यदलको करीव ५ दिनको निरन्तर प्रयासपछि आइतवार अपराहन्न सर्वसम्मत रुपमा उम्मेदवार टुंग्याएको नेपाली कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।
नेपाली कांग्रेस क्षेत्र नंवर ३ का सभापति जगत बहादुर खड्काको संयोजकत्वमा कार्यदल बनेको थियो । कार्यदलमा प्रदेश सभापतिद्वय खिम बहादुर वली, देवेन्द्र रिजाल, नगर सभापति शुरेश हमाल तथा नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिका तर्फबाट जिल्ला प्रतिनिधिका रुपमा सहसचिव राजु आचार्य रहेका थिए ।
कार्यदलको बैठकपछि कार्यदल संयोजक तथा नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत बहादुर खड्काद्वारा जारी विज्ञप्तीमा तुलसीपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा हालका महासचिव विनिल केसीलाई अध्यक्षको उम्मेदवार छनौट गरिएको छ । त्यसैगरी वाणिज्य उपाध्यक्षमा देव बहादुर केसी, उद्योग उपाध्यक्षमा हेमेन्द्र खड्का, खुल्ला उपाध्यक्षमा खुसलराम शर्मालाई छनौट गरिएको छ ।
त्यसैगरी महासचिवमा केशवराज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा नविन राई, सहकोषाध्यक्षमा जनक वहादुर रावत, छनौट भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्दिपन रिजाल (एसोसियटस), दिपेश भण्डारी, निर्मल पौडेल, वालकृष्ण डाँगी, पुस्कर सुनार (संस्थागत) कमल ढाँगी, तिर्थ डाँगी तथा महिला सदस्य तर्फ निलम बस्नेत र नारायणी कुमारी वलीलाई छनौट गरिएको नेपाली कांग्रेस क्षेत्रीय समितिले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
यसैबीच निर्वाचन कार्यतालिका अनुसार सोमवार अपराहन्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिएका छन् । त्यसैगरी नयाँ नेतृत्वका लागि आगामि २९ गते विहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने पनि निर्वाचन समितिले जनाएको छ । यसैबीच नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत बहादुर खड्काले कांग्रेसले छनौट गरेका आधिकारिक उम्मेदवारलाई मतदान गर्न आम प्रजातन्त्रमा आस्था राख्ने उद्योगी व्यवसायी, शुभेच्छुकहरुलाई आग्रह गरेका छन् ।
उम्मेदवारी मनोनयनकै पुर्वसन्ध्यामा तुलसीपुर उद्योग वाणिज्य संघका पुर्वअध्यक्षहरुले भने नयाँ नेतृत्वका लागि सर्वसम्मतको प्रयास पनि जारी राखेका छन् ।
