दिल्ली । भारतीय सुरक्षा बल र छत्तिसगढको बस्तरका माओवादी बीच भएको पछिल्लो मुठभेडमा १२ जना माओवादीहरूको मृत्यु भएको छ। मुठभेडमा दुईजना सुरक्षाबलका जवानहरू पनि घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सन् २०२४ मा माओवादी विरुद्ध भारतीय सुरक्षाबललाई ठूलो सफलता मिलेको छ। यो वर्षको आधाआधिमा भारतीय सुरक्षा बलले १०३ जना माओवादीहरूलाई मारेका छन्। जबकि २०२२ मा २२ जना र २०२३ मा ३० जना गरी दुई वर्षमा जम्मा ५२ जना माओवादीहरू मारिएका थिए। सन् २०२४ को अन्त्यसम्ममा अझ धेरै माओवादीहरूलाई कारबाही गर्न सकिने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
छत्तिसगढको बस्तर इलाकामा सुरक्षाबल र माओवादी बीच लगातार मुडभेडहरु भइरहेका छन्। पीडिया क्षेत्र जहाँ शुक्रबार मुठभेड भएको थियो, यसअघि माओवादीहरूले बैठकहरू राख्ने गर्दथे, यस क्षेत्रलाई माओवादीहरूको गड मानिन्थ्यो। यहाँ भएको लगातारको कारबाहीले अब माओवादीमा भर्ती हुन आउने नयाँ लडाकुहरूमाथि प्रतिकूल असर पर्ने विशेषज्ञहरूले बताएका छन्।
यसअघिका वर्षहरूमा भारतीय सुरक्षाबलको कारबाही पश्चात् माओवादीहरूले तुरुन्तै जवाफी कारबाहीहरू गर्ने गरेका थिए। तर पछिल्ला वर्षहरूमा यहाँका माओवादीहरूको ढाड भाँचिएको छ। जवाफी कारबाहीको नाममा उनीहरुले केवल स्थानीय जनताहरूलाई निशाना बनाएका छन्। गएको चार महिनामा उनीहरुले २१ जना स्थानीयहरूको हत्या गरेको समाचार एजेन्सीहरुले बताएका छन्। जबकि गत साल उनीहरूले ४१ जनाको हत्या गरेका थिए । तर सुरक्षाकर्मी तर्फ भने उनीहरूले कुनै उल्लेख्य नोक्सानी पुर्याउन सकेका छैनन्।
