दिल्ली । भारतको निर्वाचन आयोगले कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले मतदानको तथ्याङ्क सार्वजनिक गर्न ढिलाइ भएको विषयमा उठाएका प्रश्नको जवाफ दिएको छ । आयोगले खर्गेको आरोप निराधार र तथ्यहीन रहेको भन्दै भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै त्यस्ता अभिव्यक्तिले मतदाता सहभागितामा प्रतिकूल असर पार्ने र कर्मचारीलाई अवमूल्यन गर्न सक्ने बताएको छ । आयोगले मतगणनाको तथ्यांकमा कुनै गल्ती नभएको जनाएको छ । टाइम्स अफ इन्डियाका अनुसार निर्वाचन आयोगले मतदाताको भोटिङ तथ्याङ्क सङ्कलन र वितरणमा कुनै कमी वा कमजोरी नभएको भन्दै सबै आरोपलाई चिन्ताजनक रहेको भन्दै अपडेट गरिएको मतदानको तथ्याङ्क मतदानको दिनमा उपलब्ध हुने बताएको छ । एशोसिएशन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले पनि निर्वाचन आयोगको भोटिङ तथ्याङ्कलाई लिएर सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
खर्गेले 'भारत' गठबन्धनका नेताहरूलाई पत्र लेखेका थिए
मल्लिकार्जुन खर्गेले विपक्षी दलको भारत गठबन्धनका नेताहरूलाई वैशाख २४ गते पत्र लेखेका थिए । जहाँ उनले निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । निर्वाचन आयोगले लोकसभा निर्वाचनको अन्तिम चरणको मत प्रतिशत सार्वजनीक नगर्नु इतिहासमा पहिलो पटक भएको उनले पत्रमा लेखेका थिए । लोकसभा चुनावको पहिलो र दोस्रो चरणको मतदानको प्रतिशत सार्वजनिक गर्न ढिलाइजस्ता सबै घटनाक्रमहरुले निर्वाचन आयोगको कार्यशैलीमा प्रश्न उठाएको र ढिलाइले तथ्यांकको गुणस्तरमा गम्भीर संकट सिर्जना गरेको उनले लेखेका थिए ।
