तुलसीपुर ३ जेठ / उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश नित्यानन्द पाण्डेले तुलसीपुरको भविष्य, आकर्षण र तुलसीपुरको गरिमा नबढाउदासम्म तुलसीपुरको विकास नहुने बताएका छन् । बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले तुलसीपुरलाई आकर्षक स्थलकारुपमा पहिचान गराउन सकिने क्षेत्रहरुको पहिचान गर्न आवश्यक रहेको बताए ।
तुलसीपुरमा एक समय अञ्चल सदरमुकामसहित पहाडी क्षेत्रको निकासको द्वार भएपनि ती कुराहरु अहिले परिवर्तन भएको भन्दै प्रमुख प्रशासकीय केन्द्रकोरुपमा तुलसीपुर रहने की नरहने ?, यस्को हैसियत के ? यो विषयमा सोच्नुपर्ने बेला आएको उनले बताए । तुलसीपुरको आकर्षण बढाउनको लागि नयाँ सम्भावित कुराहरुमा विचार गरेर तुलसीपुरको समृद्धिको सम्भावनालाई जोगाई राख्ने सोच्न आवश्यक रहेको बताए । साथै मुख्य न्यायधिश पाण्डेले अहिलेको नयाँ पुस्ता विदेश पलायनको कुरा चिन्ताजनक रहेको बताउँदै समाजमा विकृतिहरु बढिरहेकाले समाजमा अपराधका घटनाहरुमा बृद्धि भएको बताए । यस्ता खालका घटनाहरुले भोलिका दिनमा कति जोखिम मोल्ने भन्ने कुरातर्फ इङ्गित गरिहेकाले तुलसीपुरलाई सुरक्षित, शान्त क्षेत्र, अपराध कम हुने स्थानकोरुपमा कसरी चिनाउन सकिन्छ त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
तुलसीपुर शान्ति क्षेत्रका रुपमा परिचित भए यस क्षेत्रका उद्योग, व्यापारले फड्को मार्ने उनले बताए । त्यस्तै उनले अहिले जुन उद्देश्यले संस्थाहरुको निर्माण भए ती उद्देश्यअनुसार नचलेको कुरा आइरहदाँ तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुले अग्रज पुस्ताहरुको उपलब्धिलाई आत्मसाथ गर्दै अगाडी बढ्नेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले आम व्यवसायीहरुको सौहार्दपूर्ण व्यवसायी छनोट गर्ने वातावरण तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्नु पर्ने बताए । त्यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले निजी क्षेत्रले सरकारलाई घचघच्याउने काम गर्दै आएको बताए । टरिगाउँ एयरपोर्टको विकासका लागि दाङमा रहेका ११ वटा उद्योग वाणिज्य संघ एकजुट भएर एउटै आवाज लिएर पहल गरेमा समग्र दाङको विकासले फड्को मार्ने बताए ।
त्यस्तै नेपाली कांग्रेस तुलसीपुर नगरकमिटीका सहसचिव शेषमणी भण्डारीले तुलसीपुर उद्योग वाणिज्य संघले उद्योगको मात्र नभए र समग्र विकासको क्षेत्रमा काम गरिरहेको अहिलेको कार्य समितिलाई अझ बढी जिम्मेवारी बढेको बताए । उनले टरिगाउँ एयरपोर्ट नियमित सञ्चालनका लागि तुलसीपुर उद्योग वाणिज्य संघले पहल गर्नु पर्ने बताए । नेकपा एमाले नगरकमिटि सचिव रुपबहादुर खत्रीले तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुले व्यवसायिक समस्या समधान गर्नतर्फ लाग्नु पर्ने बताए । साथै उनले व्यवसायीहरुको कर लगायतका विषयमा कसरी छुटदिन सकिन्छ त्यसतर्फ पनि ध्यान दिंदै पराजित प्यालनहरुको राम्रो योजना लिएर जानुपर्ने सुझाव दिए । नेकपा माओवादी केन्द्र तुलसीपुर नगरकमिटिमा अध्यक्ष मोहन थापाले तुलसीपुर उद्योग वाणिज्य संघ सबैको साझा हुन आवश्यक रहेको बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष संकसिंह बुढाथोकीले तुलसीपुरलगायत समग्र दाङको विकासमा आवाज उठाउँदै आर्थिक, र पर्यटन क्षेत्रको विकासका लागि तुलसीपुर उद्योग वाणिज्य संघसँगै रहने बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विनिल केसी विभिन्न बाधाहरु आएपनि चुनावको समयमा मत दिएर जिताउने सबैमा धन्यवाद ज्ञापन गरे । लोकतान्त्रिक पद्धतिमा सहभागी हुने मतदातामा धन्यवाद दिंदै चुनावको समयमा मत बाडियो होला, मन बाडिन भएन उनले भने । आफूहरु व्यवसायिक एकताका लागि प्रतिवद्ध रहेको बताए । उनले अग्रजको सहयोगमा अगाडि बढ्दै व्यवसायीको समस्या समाधानका लागि एक हुने बताए । निवर्तमान अध्यक्ष रामप्रसाद चालिसेले आफूले सुरुवात गरेको राम्रो कामलाई निरन्तरता दिन आग्रह गरे । नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले उद्योगीको विकास र हकहितको लागि निरन्तरता दिन आग्रह गरे । अहिलेको कार्य समितिमा युवाहरु अगाडि आएको बताउँदै व्यवसायीमा अझ बढि अपेक्षा रहेकाले सबैलाई मिलाएर सबैका मुद्दा लिएर अगाडि बढ्न सुझाव दिए ।
निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश नित्यानन्द पाण्डेको प्रमुख आतिथयतामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्वागत निर्वाचन समितिका सदस्य रामशरण चौधरीले गरेका थिए भने सहजीकरण पुष्कर बहादुर भण्डारीले गरेका थिए ।
