काठमाडौं, २४ माघ । एमसीसी प्रकरणका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालको ‘गोप्य’ पत्र सार्वजनिक भएपछि सत्ता गठबन्धनको आयु माथि प्रश्न उठेका छन्।
यसले गठबन्धन भित्रको ‘सहकार्य’लाई टुटाउने चर्चा चलिरहेकै छ । तर, गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टीले भने यसलाई ‘सामान्य’ विषयका रुपमा लिएको छ । देउवा र प्रचण्डको पत्राचारले गठबन्धनलाई कुनै समस्या नपार्ने उसको निष्कर्ष छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले तेस्रो आँखासँग कुराकानी गर्दै देउवा र प्रचण्डको पत्र दुई दलीय धारणा मात्रै भएको बताए । ‘यो पत्रलाई ठूलो विषय बनाउनु म जरुरी देख्दैन,’ यादवले भने ‘दुईवटा दलको धारणा मात्रै हो, दलहरुले आ–आफ्नो धारणा बनाउन पाउँछन्, त्यसैले यसलाई अस्वाभाविक मान्नु पर्ने कारण छैन।’ उनले गठबन्धनको साझा धारणा भने यो नभएको बताए ।
देउवा र प्रचण्डले लेखेको पत्रको विषयले गठबन्धनमा कुनै समस्या नपारेको यादवको भनाइ छ । यसकै कारण गठबन्धन नटुट्ने दाबी पनि उनले गरे । ‘यो पत्राचारले गठबन्धनमा कुनै समस्या पारेको छैन,’ उनले भने ‘गठबन्धन टुट्दैन ।’
यस्तै यादवले एमसीसीका बारेमा जसपाले अहिलेसम्म कुनै आधिकारिक निर्णय गरिनसकेको बताए । उनले प्रमुख दलहरुको धारणा आएपछि मात्रै जसपाले धारणा बनाउने बताए । ‘संसदमा एमसीसी पेश भयो भने हाम्रो मतले पास वा फेल हुने कुरा भएन,’ यादवले भने ‘यसर्थ हामीहरुले अहिले यसो गर्छौँ भनेर धारणा किन बनाउनु ?’
