दाङ ७ जेठ / नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य सर्वसम्मत चयन भएका छन् । उनी संगै जिल्लाको सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
घोराहीस्थित जिल्ला पार्टी कार्यालयमा सोमबार बिहानदेखि जारी अध्यक्ष मण्डलको बैठकले आचार्यको नेतृत्वमा १२४ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यसैगरी जिल्ला उपाध्यक्षमा यसअघिका सचिव मनोहर बुढाथोकी चयन भएका छन् । सचिवमा तुलसीपुर – १२ का पूर्व अध्यक्ष श्याम डाँगी चयन गरिएका छन् । त्यस्तै उपसचिवमा बबर्इ गाउँपालिकाका पूर्व अध्यक्ष भूवनेश्वर पौडेल र गढवा गाउँपालिका पूर्व उपाध्यक्ष सीता चौधरी चयन भएको निर्वाचन कमिटीले औपचारिक रुपमा घोषणा गरेको छ । यी बाहेक अन्य सबै सदस्य हुन ।
जिल्ला नेतृत्व चुन्न स्थायी कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको नेतृत्वमा जिल्लामा उपलब्ध केन्द्रीय सदस्यहरु सदस्य रहेको कमिटी बनाइएको थियो ।
त्यो अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य तथा यसअघिका तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, केन्द्रीय सदस्य तथा पूर्व सांसद शान्ता चौधरी, पूर्व राष्ट्रियसभा सदस्य कोमल वली, पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मण आचार्य, सीता सिग्देल, केन्द्रीय सदस्य अनारकली मिया लगायतका नेताहरु थिए ।
