दंगीशरण ८ जेठ । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही १५ को साझेदारी दंगीशरण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा ४ दिने माटो परीक्षण शिविर आजदेखि दंगीशरण गाउँपालिकाको कृषि शाखामा शुरुभएको छ । गाउँपालिकाका ७ वटै वडाबाट माटोको नमुना माग गरी कृषि कार्यालयबाट करीव ७ सय किसानको माटो परीक्षण गर्ने अनुमानसहित माटो परीक्षण शिविर आयोजना गरिएको कृषि शाखा प्रमुख शरु भुषालले बताउनुभयो ।
कृषि खाद्य प्रविधि तथा भुमि ब्यवस्था मन्त्रालय कृषि विकाश निर्देशनालय माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेको प्राविधिक टोलिले माटो परीक्षण गर्ने कृषि शाखा प्रमुख भुषालले बताउनुभयो ।
माटो परीक्षण शिविरको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष शम्भु गिरीले माटो परीक्षण शिविरले कृषि क्रान्ति को शुरुवात भएको महसुस गर्नुभयो । कृषि उत्पादनमा वृद्धि गर्न पनि माटो परीक्षण अपिरहार्य रहेको अध्यक्ष गिरीको भनाइ थियो ।
माटोमा गुमेको तत्वलालाई पुनः ल्याउनलाई किसानले आफ्नो माटो प्राविधिकसँग लगि माटोलाई पहिलेकै अवस्थामा ल्याउन किसानहरु जागरुक भएको देख्दा खुसि लागेको अध्यक्ष गिरीको भनाइ थियो । कृषिप्रधान देश भनेर चिनिने हाम्रो देशमा पछिल्लो समयमा कोदो फापर जस्ता बस्तुपनि आयात गर्नुपर्ने अवस्था आएको प्रती दुख ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले हामी किसान हौ तर खेतीपाती कसरी गर्ने भन्ने कुरासम्म थाहा नपाएका हामीलाई माटो परीक्षणले सहयोग गर्ने बताउनुभयो । कुन वालि कहाँ र कस्तो ठाउँमा रोप्ने भन्ने कुरा कृषि प्राविधिकको सल्लाह अनुसार गर्नुपर्ने उपाध्यक्ष खड्काको भनाइ थियो । बालिनालिमा आएको ह्रासलाई कम गर्दै कृषि उत्पादनमा वृद्धि गर्न आफुहरु सक्रिय रुपमा लागेको उपाध्यक्ष खड्काले बताउनुभयो ।
यस्तै कृषि शाखा प्रमुख शरु भुषालले माटोलाई चाहिने भिटामिन र रासायनिक मलको मात्रा अनुकुलित तवरले प्रयोग गर्न पनि माटो परीक्षण आवश्यक हुने बताउनुभयो ।
फिल्ड गएर कस्तो माटोमा कस्तो बालि लगाउने र माटो कसरी चेक गर्ने भन्ने कुराहरु आफुहरुले वडा वडामा पुगि किसानहरुलाई सिकाउदै आएको प्रमुख भुषालले बताउनुभयो ।
माटो परीक्षण शिविर वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा पिमा वली खड्काको बिशिष्ट आतिथ्यतामा माटो परीक्षण शिविरको औपचारिक उद्घाटन गरिएको हो ।
