काठमाडौं, २५ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीलाई सखाप पार्न प्रतिक्रियावादीहरूले घेरा हालेको बताएका छन्।
प्रचण्डले माओवादीलाई सखाप पार्न देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरु लागेको आरोप लगाएका हुन्। ‘प्रचण्ड’ निवास खुमलटारमा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले ठूलो परिवर्तनका बाहक विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई ठूलो फाइदा हुने र जनतालाई ठूलो घाटा हुने बताएका हुन् ।
अहिले विस्तारै विभाजनका घाउहरू बिर्सिंदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादी एक ठाउँमा केन्द्रित हुँदै गएको उनको भनाइ छ। 'जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर विजयी हुन्छाै उनले भने हामीलाई कसैले परास्त गर्न सक्दैन।'
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जुम्ला जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवासहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
सो अवसरमा अध्यक्ष दाहालले ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए। अध्यक्ष दाहालले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए।
