तुलसीपुर, २० जेठ । पछिल्ला दिनमा युवा युवती विभिन्न कुलतमा फस्दै जाँदा समाजमा यसप्रति चिन्ता ब्यक्त गरिदै आएको छ । लागुऔषध तथा लागुपदार्थ प्रयोग गर्ने युवा युवतीको संख्या बढ्दै जाँदा समाजमा अपराधिक घटनाहरु समेत बढ्दै गएका छन् ।
यसैबीच मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवसको अवसरमा दुर्व्यसन बिरुद्ध आइतबार विद्यालय केन्द्रित कार्यक्रम गरिएको छ । तुलसीपुरस्थित ग्रेट अरनिको उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई दुर्व्यसनी भनेको के हो, यसबाट पर्ने असर, साथै शान्ति समाजले तयार गरेको ७ बुँदे अबधारण पत्र शान्ति समाजका निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेत र केन्द्रीय सचिव निर्मल नेपालीले प्रस्तुत गरिएको थियो ।
अवधारण पत्रमा लागु औषध/मदिरा दुर्व्यसनबाट आफ्ना सन्तति, विद्यालय र सामुदायिक क्षेत्रलाई मुक्त राख्न दृढ इच्छाशक्तिसहित व्यापक पहलको आवश्यकता रहेको उल्लेख छ । त्यस्तै शान्ति समाजले विद्यालय र सामुदायिक क्षेत्रमा अभियान व्यापक रुपमा विस्तार हुनुपर्ने ठानेको छ । यसका लागि अभिभावक वर्गको अहम् भूमिका छ र दुर्व्यसन रोकथामका लागि अभिभावक स्वयंले नेतृत्वदायी भूमिका खेल्नुपर्छ भने दुर्व्यसनको क्षेत्रमा देखिएको नयाँ प्रवृत्तिबारे अभिभावकहरु जानकार हुनु आवश्यक रहेकोमा जोड दिएको छ ।
जसमा अभिभावकीय कर्तव्य पुरा गर्नका लागि अभिभावकीय निगरानी आवश्यक रहेको, विद्यालयको भूमिकामा लागु औषध/मदिरा दुर्व्यसनमुक्त विद्यालय बनाउन विशेष योजनासहित दुर्व्यसन रोकथाम कार्यक्रम प्रत्येक विद्यालयसँग हुनुपर्ने, समुदायको भूमिकामा लागु औषध/मदिरा दुर्व्यसनमुक्त समुदाय निर्माण गर्न समुदायसँग विशेष योजना हुनुपर्ने, लागु औषध/मदिरा दुर्व्यसनमुक्त कार्यस्थलमा सम्पूर्ण कार्य स्थलहरु लागु औषध/मदिरा दुर्व्यसनबाट मुक्त रहनुपर्ने, युवा पुस्तालाई विशेष आग्रह गरिएकोमा लागू औषध/मदिरा दुर्व्यसनले व्यक्तिलाई विक्षिप्त, परिवारलाई तहसनहस र समाजलाई अस्तव्यस्त बनाउने भएकाले अभियानको बारेमा जानकारी गराइएको थियो । भने बिद्यार्थीहरुले दुर्व्यसन बिरुद्ध राखेको चासोलाई बस्नेतले सम्बोधन गर्नुभएको थियो ।
शाखा सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा सचिव अमृत प्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो ।
