अञ्जना चौधरी,दाङ २७ जेठ/दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ की पुष्पा पुनलाई दिउँसो टन्टलापुर घाममा तिर्खा लाग्यो । वरपर सार्वजनिक धारा पनि देख्नु भएन् । तर, जब उनी तुलसीपुर बजारको मुख्य भाग विपी चोक पुगिन्, जहाँ निःशुल्क पानी वितरण गरेको देखिन् र त्यहाँ पुगेर आफ्नो तिर्खा मेटिन् । यसरी निःशुल्क रुपमा चिसो पानी खान पाउँदा उनी खुसी भइन् । तुलसीपुर बजारमा पानी पिउनलाई कि भने होटेलमा नास्ता खानु पर्ने, कि भने किनेर खानुपर्ने अवस्था थियो । तर, अहिले त्यो अवस्था नरहेको भन्दै पुष्पाले खुसी ब्यक्त गरिन् । यस्तो गर्मीमा चिसो पानी त्यसैमा पनि निःशुल्क खान पाइयो, पानी खुवाउने मान्छेलाई धर्मै लागोस् जुगौजुग बोच्नु होला, उनले यसरी आर्शिवाद दिँदै आफ्नो काममा हिडिन् ।
तुलसीपुर बजारमा सार्वजनिक धाराहरु पनि छैनन् । त्यसले गर्दा बटुवालाई पानी प्यास लागेमा किनेरै खानुपर्ने अबस्था हुन्छ । तर, बैशाखको पहिलो हप्तादेखि जेठसम्म निःशुल्क पानी खाने ब्यवस्था हुँदा यसले बाहिरबाट आएकाहरुलाई निकै सहज हुने गरेको छ । तुलसीपुरकै मदन आचार्य पनि तिर्खा लागेमा विपि चोकमा पुगेर निःशुल्क रुपमा चिसो पानी खाने गरेका छन् । बिपीचोकमा पानी खाँदै गर्दा भेटिएका उनले पनि यसरी बजारको मुख्य भागमा बटुवाहरुलाई निःशुल्क पानी खुवाउँनु एकदमै पुण्यको काम रहेको भन्दै खुशी व्यक्त गरे । सरकारले गर्नु पर्ने काम एउटा व्यक्तिले त्यसैमा पनि आफ्नै खर्चमा यसरी बटुवाहरुलाई निःशुल्क रुपमा पानी खुवाउनु एकदमै राम्रो काम रहेको भन्दै प्रशंसा गरे ।
आचार्य र पुन मात्रै होइन्, दैनिक दुई हजार पाँच सय बढिले त्यहाँबाट चिसो पानी पिउने गरेका छन् । दाङ तुलसीपुरको मुख्य भाग वीपी चोकमा तुलसीपुरका ब्यवसायी टेकराम खड्काले पानी खुवाउन थालेको १५ बर्ष भयो । उनी आफैं उपस्थित भएर वैशाखदेखि असार महिनाको पहिलो सातासम्म विपीचोकमा बसेर सर्वसाधारणलाई पानी खुवाउँदै आएका छन् । जहाँ दैनिक ३ हजार लिटरभन्दा बढी पानी खपत हुने गरेको छ । दैनिक दुई हजार पाँच सय बढिले पानी पिउने गरेका छन् । खड्काले ‘सेवा नै धर्म हो’, भन्ने हेतुले यो कार्य सुरु गरेकाले जीवनभर यसरी नै पानी खुवाउने प्रणः गरेका छन् ।
तुलसीपुरमा सामान किनमेल गर्नको लागि आउँने धेरै व्यक्ति पानी पिउन नपाएर बेहोस भएको देखेपछि आफुले निःशुल्क रुपमा पानी खुवाउने प्रण लिएको उनको भनाइ छ । त्यो बेला प्रशस्त मात्रामा मिनिरल वाटर पनि पाइदैन थियो, सबैसँग किनेर खाने पैसा पनि हुँदैन थियो, धेरै युवा, युवती वृद्ध, वृद्धाहरुलाई घाममा हिड्दा हिड्दै बेहोस भएको देखेपछि मैले पानी खुवाउने योजना बनाए त्यसमा परिवारबाट समेत राम्रो साथ पाएको छु टेकरामले भने । टेकराम आफै पनि फुर्सदको समयमा विपीचोकमा बसेर बटुवाहरुलाई पानी खुवाउँछन् भने एक जना पानी खुवाउन सहयोग गर्ने कर्मचारी पनि राखेका छन् । त्यसका साथै उनको परिवारले पनि पलैपालो पानी खुवाउने कार्यमा सघाउँदै आएका छन् । टेकरामले बटुवाहरुलाई दुई महिनामा बरफ राखेर चिसो पानी खुवाउँदा साढे तीन लाखसम्म खर्च हुने गरेको उनले बताए ।
