काठमाडौं, २७ माघ। सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी बारेको भ्रम जनतामाझ गएर चिर्ने भएकाे छ।
बिहिबार बसेकाे केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकमा एमसीसीलाई कसरी संसदमा टेबुल गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए।
'एमसीसी पारित गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छाैँ,' उनले भने 'सभामुखको काम सरकारले पठाएका विधेयक सदनमा टेबुल गर्ने हो, त्यहाँ छलफल गराउने हो, एमसीसी पनि रोक्न पाउनुहुन्न।'
यस्तै, बैठकमा एमसीसी र स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल भएको छ। साथै बैठकमा स्थानीय तह निर्वाचनमा कसरी जाने भन्ने विषयमासमेत छलफल भएको छ।
भ्रातृ संगठनको महाधिवेशनका सम्बन्धनमा कुनै टुंगोमा पुग्न नसकिएको उनले बताए। प्रवक्ता महतले पुन:शुक्रबार दिउँसो २ बजे बैठक बस्ने जानकारी दिएका छन्।
