• ट्रेण्डिङ्ग :
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित

ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित


  • 3.0K
    SHARES
    • आषाढ ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.6K Views

    ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित

    ताप्लेजुङ, ३ असार/ताप्लेजुङका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन् । बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
     
    सिरिजङ्घा गाउँपालिका–६ मामांखेका पाँच घर उच्च जोखिममा रहेका छन् । तीमध्ये चार परिवारलाई लक्ष्मी माध्यमिक विद्यालयमा राखिएको छ भने एक परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ । 

    images

    यस्तै सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका आठ घर उच्च जोखिममा रहेका छन् । उक्त आठ घरमध्ये सात घरका परिवारलाई सिंहेश्वरी आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ । एउटा परिवार छिमेकीकामा आश्रय लिएर बसेको जनाइएको छ ।
     
    यस्तै जोखिममा रहेका मिक्वाखोला गाउँपालिका–५ का चार र फुङलिङ नगरपालिका–१० का छ परिवारसमेत अन्यत्र सरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण एउटा माइक्रो हाइड्रो र क्रसर उद्योग जोखिममा रहेका छन् ।
     
    बाढीपहिरोले चार घर बगाएको छ भने पाँच जनाको निधन भएको छ । जेठ ३१ गते राति पहिरोले घर बगाउँदा फक्ताङ्लुङ गाउँपालिकास्थित खेजेनिमका एकै परिवारका चार जनाको निधन भएको थियो भने सोही ठाउँकै दुई जना घाइते भएका थिए । फक्ताङ्लुङकै विभिन्न खोलाका चार पुलसमेत बाढीले बगाएको थियो ।
     
    यता मिक्वाखोला–३ मा रहेको एउटा माइक्रो हाइड्रोपावरमा समेत क्षति पुगेको छ । हाइड्रोको पाइप पहिरोले बगाएर विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा छन् । मनसुन सुरु भएदेखि नै भारी वर्षा भई जिल्लाका अधिकांश क्षेत्रमा बाढी र पहिरो जाँदा अलैँचीसहितका बालीमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।
     
    नौ स्थानीय तह रहेको जिल्लाका ६१ वडामध्ये ४१ वडा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् भने १८ मध्यम र दुई न्यून जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सबैभन्दा बढी फक्ताङ्लुङका सात वटै वडा उच्च जोखिममा रहेका छन् ।
     
    बाढी पहिरोले खानेपानीसहित विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा कतिपय ठाउँका नागरिक खानेपानी र विद्युत्को अभावमा परेका छन् । यता सिरिजङ्घा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा सडकसमेत पहिरोका कारण अवरुद्ध बनेका छन् । बाढी र पहिरोले पुगेको थप क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।


    तेस्रो आँखा