काठमाडौं, २९ माघ । नेपाली कांग्रेसको बैठकले जनवर्गीय संगठनको बारेमा टुङ्गो लगाउन नसके पनि कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते हुने भएको छ ।
काँग्रेसको विधानअनुसार पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित हुने भ्रातृ र शुभेच्छुक संस्थाको पदाधिकारी वा सदस्यको पद स्वतः रिक्त हुने उल्लेख छ। पार्टीको १४औँ महाधिवेशनबाट नेविसंघ अध्यक्ष राजीव ढुंगाना, तरुण दल अध्यक्ष जितजंग बस्नेत, महिला संघकी अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीन विश्वकर्मा र मुस्लिम संघका अध्यक्ष अब्दुल सतार काँग्रेसको केन्द्रीय सदस्य भएका छन्।
नेपाली कांग्रेसको शुक्रबार बसेको बैठकले यस विषयमा केही टुङ्गो लगाउन सकेन तर, निर्वाचन आयोगले भने कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही रौतहट, बारा, पर्सा, सिन्धुली मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो।
उल्लेखित १६ जिल्ला अन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचन समेत सम्पन्न गर्ने मिति तय गरिएको समिति सचिव केशव रिजालले जानकारी दिए ।
जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न भइसकेको तर कुनै वडा, पालिका, प्रदेश सभा क्षेत्र र महासमिति सदस्यको निर्वाचन हुन बाँकी रहेका पद र तहको निर्वाचन तोकिएको मापदण्डभित्र रही फागुन १० गतेभित्र सम्पन्न गर्न समेत समितिले सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन गरेको छ ।
यसैगरी महोत्तरी क्षेत्र नं ३ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन बाँकी रहेकामा उक्त निर्वाचन फागुन १० गतेभित्र सम्पन्न गर्ने तय गरिएको उनको भनाइ छ।
