प्रहरीको पहिलो ‘निशाना’ चुक्यो। छाती ताकेर हानिएको गोली पाखुरामा धसियो। प्रहरीले थप गोली प्रहार गर्याे। पैँसेरी नाच्दै गरेका मनबहादुर पुन र लोकबहादुर घर्ती प्रहरीको दोस्रो र तेस्रो निशानामा मारिए। प्रहरीको पहिलो निशाना बनाइएका थिए, नन्दबहादुर पुन ‘पासाङ’। २०५१ मा मृत्युको मुखबाट उम्किएका पासाङ दुई पटक राष्ट्रको दोस्रो उच्च पद उपराष्ट्रपति बन्न सफल भए।
रोल्पामा माओवादीको द्वन्द्वको चर्चा बाक्लिई सकेको थियो। नन्दबहादुर त्यो बेला नेकपा एकता केन्द्र मसालमार्फत सक्रिय राजनीतिमा थिए। २०५१ मंसिर ९ गते रोल्पाको इरिवाङमा मेला लागेको थियो। गाउँका युवाहरुले त्यस अवसरमा ‘पैँसेरी’ नाच निकालेका थिए। युवाहरुको भिडकोबीचमा थिए पासाङ। मादल बजाउन खप्पिस उनले युवाहरुलाई नचाइरहेका थिए। पासाङ लगाएतका त्यहाँका यूवाहरुलाई त्यो बेला विभिन्न मुद्दा लागिसकेको थियो। पासाङलगाएतका युवाहरुलाई पछ्याइरहेको प्रहरी त्यही मेलामा पुग्यो र नियन्त्रणको प्रयास थाल्यो। पासाङ त्यहाँबाट उम्किएर भाग्न खोज्दै थिए। प्रहरीले सुरुकै निशाना उनीमाथि लगायो। धन्न पासाङ छलिए। उनको पाखुरामा गोली लाग्यो। उनी घाइते अवस्थामा प्रहरीको निशाना छल्दै भाग्न सफल भएका थिए। यही घटनालाई माओवादी माथिको सम्भवतः पहिलो आक्रमण हुन सक्ने बताइएको छ।
पञ्चायतकालदेखिनै कम्युनिष्ट राजनीतिमा होमिएका थिए पासाङ। उनको राजनीति स्कुले विद्यार्थी जीवनबाटै सुरु भएको थियो।रोल्पाको राङ्सीमा कक्षा ७ मा पढ्दा उनी नेकपा मसालको विद्यार्थी संगठन अनेरास्ववियू छैठौँको ईकाई अध्यक्ष बनेका थिए। ७ कक्षा पास भएपछि पासाङ ८ कक्षा अध्ययनका लागि लिवाङस्थित बाल कल्याण माविमा भर्ना भए। उनका गुरु थिए कृष्णबहादुर महरा। महराको चेला पासाङलाई लिवाङ बसाईपछि झनै राजनीतिको नशा चढ्यो। संगठन बनाउन र कम्युनिष्ट आन्दोलनबारे अध्ययन गर्न पनि महराले प्रेरित गरे। यहाँ सम्मकी उनी पढाइमा भन्दा राजनीतिमा बढी समय दिन्थे। पासाङ राजनीतिमा जति सक्रिय बन्दै गए, उति प्रशासनको नजरमा ‘वान्टेड’ दर्ज हुँदै थिए। २०३९ मा बुटवलमा भएको अनेरास्ववियुको प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलनमा रोल्पा प्रतिनीधि बनेर गएका पासाङ जिल्ला फर्कदा उनको नाममा वारेन्ट जारी भैसकेको थियो। लिवाङमा ८ पास गरेर उपल्लो कक्षा अध्ययनका लागि पासाङ थवाङ पुगे। उनी त्यहाँ पक्राउ परे र तीन रात थुनिए। २०४५ मा उनी उच्च शिक्षा अध्ययनका लागि दाङ झरे। महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएका उनी त्यहीबेलै मसाल समूहको अध्यक्ष बने। २०४५ सम्म विद्यार्थी राजनीतिमा रहेका पासाङ २०४६ मा बल्ल पार्टी राजनीतिमा प्रवेश गरेका थिए। २०४६ मा नेकपा मसालको जिल्ला सदस्य हुँदै २०४८ को एकता महाधिबेशनबाट बनेको एकता केन्द्र मसालको सदस्य बने। कृष्णबहादुर महरा सेक्रेटरि रहेको उक्त संगठनमा पासाङ, सन्तोष बुढा, इन्द्रबहादुर बुढा र जोखबहादुर महरा सदस्य थिए। माओवादी सशस्त्र युद्धको घोषणा पछि उनी भूमिगत बने ।
नेकपा माओवादीले सशस्त्र युद्धको पहिलो थालनी गरेको होलेरी आक्रमण पासाङकै सह नेतृत्वमा भएको थियो। त्यो बेला कमाण्डरको जिम्मा वर्षमान पुनले लिएका थिए। माओवादी राजनीतिमा सैन्य विभागको जिम्मेवारी सम्हालेका पासाङ निडर र उर्जा दिन सिपालु व्यक्तित्वका रुपमा चिनिन्छन्। सैन्य नेतृत्वका समयमा उनले व्यक्तिगत र पारिवारिक लाभको लोभ कहिल्यै पालेनन् नत आफ्ना सैन्यहरुलाई त्यो लोभको स्वादनै कहिल्यै चखाए। उनको एउटै निर्देशन हुन्थ्यो ‘केबल मुक्तिका लागि लड्नुस्।’ ‘घर सम्पत्तिको चिन्ता गर्ने हैन, मुक्तिका लागि लड्ने हो भनेर साह्रै उर्जा दिने मान्छे हो उहाँ,’ उनीबारे एक जानकार माओवादी नेताले भने ‘उहाँमा आफ्नो व्यक्तिगत लाभको छनक कहिल्यै पाइएन।’ उनकै नेतृत्वमा माओवादीले मुलुकका विभिन्न स्थानमा भएका ठूल्ठूला आक्रमणमा सफलता हात पार्यो। डोल्पाको दुनै, जुम्ला,दाङको घोराही, अछामको मंगलसेन, अर्घखाँचीको सन्धीखर्क, म्याग्दीको बेनी पासाङकै नेतृत्वमा कब्जा भएका हुन्। रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाहीसेनालाई पराजित गर्दा पनि पासाङ नै कमाण्डर थिए।
होलेरी आक्रमणका सहायक योजनाकारको जिम्मा पाएका पासाङ त्यो सफलता पछि मुख्य योजनाकार बनाइएका थिए। पासाङ पार्टीको सांगठनिक क्रियाकलापमा त्यति सहभागी भएनन्। उनी सुरुदेखि नै माओवादीको सैन्य विभागमा थिए।
सधैँ मुक्तिका लागि उर्जा दिइरहने पासाङ बेनी आक्रमण अघिका पराजयले भने केही निरास बनेका थिए। रुकुमको खारा लगाएतका धेरै आक्रमणका प्रयास विफल भएपछि माओवादीले बेनी आक्रमणको योजना बनाएको थियो। आक्रमण सुरु हुनु पूर्व पासाङले यो लडाइ जसरी पनि जित्नु पर्ने भन्दै आफ्ना सैन्यहरुलाई निराशाजनक अभिव्यक्ति दिएका थिए। ती माओवादी नेता सम्झन्छन् ‘बेनी लडाई पनि हारियो भने हामीहरु काली नदीमा बगेर मर्नुपर्छ भनेर पासाङ जी ले भन्नु भएको थियो, उहाँमा पहिलेका हारले चिन्तित तुल्याएको थियो ।’
पासाङले सैन्य नेतृत्व कालमा कसैलाई चिढाएनन्। उनी इमान्दार र कसैलाई नबिझाउने नेताका रुपमा सैन्य क्याम्पभित्र चिनिन्थे। पासाङ ०५४ मा पार्टीको क्षेत्रीयब्यूरो सदस्य, ०५७ मा केन्द्रीय सदस्य, ०६० मा पोलिटब्यूरो सदस्य र ०६९ मा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिए। ०७० वैशाखमा भएको विराटनगर सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा चुनिएका उनी सोही जेठमा स्थायी समिति सदस्यमा निर्वाचित भएका थिए ।
राङसी–९, रोल्पामा जन्मिएका पासाङ माइलाे छोरा हुन्। पासाङ कलाकारीतामासमेत उत्तिकै दख्खल राख्छन्। उनी गीत गाउन र मादल बजाउन सिपालु छन्। उनले थुप्रै क्रान्तिकारी धारका गीतहरुसमेत लेखेका छन् ।
