काठमाडाैं, १ फागुन । धेरै वर्ष अघि भुरेटाकुरे राजाहरु राम्रो भूमि खोज्दै पुगे थवाङ। थवाङको छापकोट जो अहिले रुकुम पर्छ। हात हतियार, सेना दलबलसहितको थवाङ बसाई। त्यो पनि राजाको। स्थानीयहरुलाई चित्त बुझेन। न राजाको फौजसँग भिड्न सकिने, न त अन्य विकल्प। चेलिबेटी बिगार्छन, दुख दिन्छन् अर्थात राजाको भूमिका आफ्नो लागि सहज नहुने अनुमान गरेका थवाङीहरुलाई एक प्रकारको असजिलो महसुस भयो।
यसैबीचमा राजाको एउटा सन्देश आयो। थवाङमा धान छर्ने यदि उम्रियो भने बसाई यतै सार्ने होइन भने फिर्ता जाने। धान छर्नका लागि बीउ दिइयो। गाउँलेहरु बसे, छलफल गरे, अनि एउटा कुटनैतिक निर्णय गरे। रात परे पछि राजाले दिएको धानको बीउ मकैको खाजा भुटे झै भुटे। भोलि पल्ट लगेर खेतमा छरे। दिन बित्दै जादाँ धान उम्रिएन अनि राजाहरु बसाई सरे। यो कथा होइन थवाङको सत्य इतिहास हो।
इतिहासमै राजा र राज्य सत्ताबाट अलग हुन चाहने थवाङीहरु २०६४ मा ३ मत बाहेक सवै प्रचण्डलाई दिएका थिए। २०७० सालको संविधान सभामा एकमत पनि खसालेनन्। २०३६ सालमा सतप्रतिशत मत बहुदललाई खसालेका थवाङीहरुले २०१५ सालको निर्वाचनमा सबै मत थवाङकै उम्मेदवार बनेका खगुलाल गुरुङलाई दिएका थिए।
२०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाङमा २०५६ मा हेलिकप्टरमा पुगेका २ जनाले मात्र मतदान गरेका थिए। २०५४ मा चुनावै भएन। अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो। २०३९ सालको स्थानीय चुनावमा विरोधमा कोही उठ्न खोज्दा समर्थक र प्रस्तावक नपाएपछि अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्प्रधामा आएका थिए।
२०१२ सालमा कम्यूनिष्टको ‘क’ भित्रिएको थियो थवाङमा। कृष्ण झाक्रि नामका मुखिया(राजा)ले त्यो समयमा सुगुर, बुगुर, कुखुरा, कुकुर, गाउँमा खुला रुपमा नछोड्न आदेश गरे। झयाली पिटाए। कटुवाललाई हाँक हाल्न लगाए। तर गाउलेले टेरेनन् । स्थिति फेरिएन। अनि शुरु गरे मुखियाले जनावरमाथि आक्रमण। सुगुर, बुगुर, कुखुरा, कुकुर रक्तीमुसल भएर घरगोठ पुगे, उनीहरुका घाउ पाके। भरुवा वन्दुक, खुकुरी, भालाका, घाउले जनावर हेरिनसक्नु भए। विरोधमा बोल्ने हिम्मत कसैमा भएन ।
असाध्यै भएपछि वरमन बुढा (पूर्व सांसद) लगायतका युवाहरुले प्रतिकार सुरु गरे। मुखियाले प्यूठानबाट प्रहरी बोलाए। मुद्दा चल्यो अनि जेल पुगे वरमन बुढा । रोल्पा जिल्ला जन्मिएको थिएन, त्यसैले बुढालाई प्यूठानको कारागार पुराइयो।
संयोग कम्यूनिष्टका हस्ति मोहन बिक्रम सिंहले उदयमान युवालाई भेटे जेलमा। अनि शुरु गरे प्रशिक्षण। उनी भित्र भर्नु पर्ने जति वामपन्ंथी शिक्षा भरे । कारागार बसाइ सकेर थवाङ फर्के वरमन बुढा। अब शुरु भयो यहाँ भिडन्तको सुरुवात। वरमनको पालो पछि प्यूठान कारागार पुगे मुखिया कृष्ण झाक्रि। उनी पनि कम्यूनिष्टको आसलाग्दो कार्यकर्ता भएर थवाङ फर्के।
यसको केही समय पछि जेलबाट छुटेका मोहन बिक्रम दाङ, सल्यान रुकुम हुदै थवाङ पुगेर कमिटी गठन गरी वरमन बुढाको नाममा हस्तान्तरण गराए मुखिया(राजा) पद। सुरु भयो कम्यूनिष्टहरुको पक्का राजनीति। २०२५ सालतिर मोहन वैद्य कार्यकर्ता विस्तारमा पुगे यहाँ। २०३६–०३७ तिर कृष्णसेन इच्छुक अनि २०४०–०४१ तिर बादल र २०४२ तिर प्रचण्ड।
०३८ सालमा सून्य मत किन ?
कारण नं.१– २०३६ सालमा राम कुमार बुढाले रक्सीको डेग (डिलर) लगे । जनताले रक्सिको व्यपार गर्न नपाउने भयो । प्रहरीले कारवाही सुरु गर्यो । विरोध गर्दा धेरै शिक्षकहरु सरुवामा परे । अनि सुरु भयो प्रहरी प्रशासन प्रतिको वितृष्णा । ६–७ जनाको संख्यामा रहेका प्रहरीहरुलाई थवाङीहरुले असहयोग सुरु गरेपछि प्रहरी चौकी मिरुलतिर सर्यो।
कारण नं.२– यसबीचमा जनमत संग्रह भयो। सबै मत बहुदललाई गयो। प्रशासन र थवाङको सम्बन्ध चिसियो। कारण नं.३– २०३७ को अन्तिममा सदरमुकामबाट दाङ जोड्ने घोरेटो बाटो खन्न ५१ वटै गाउँपञ्चायतले श्रमदान गर्न अनिवार्य गरियो । तर त्यो वर्ष अनिकाल परेका कारण किनेर ल्याएको अन्न बोकी श्रमदान गर्न नसकिने निर्णय गरयो थवाङले। कम्तिमा पनि खानाको मागसहित श्रमदानको शर्त वनायो र यहि निर्णय बोकेर त्यो वेलाका प्रधानपंञ्च वरमन बुढा(पूर्व सांसद) सदरमुकाम आए । प्रहरी प्रशासनले पनि जनमत संग्रहमा बहुदललाई भोट दिएको रिस पोख्यो उनि माथि । जेल परे वरमन ‘विकास विरोधी’ को आरोपमा।
अब शुरु भयो २०३८ को निर्वाचन। गाउँसभा बस्यो व्यापक छलफल गर्यो र एकमतले पारित गर्यो वरमन बुढाको रिहाइको माग। सरकारले वरमन बुढालाई छाड्न मानेन त्यसैको झोकमा थवाङीहरुले रित्तो मतपेटिका फकाइदिए। त्यसलगतै कार्तिक ५ बाट सेनाले ठूलो अपरेशन गर्यो।
थवाङमा इतिहासदेखि अहिलेसम्म जहिले पनि एक जनाको सत्ता चल्छ। यीनीहरु सधै एकमुखले निर्णय गर्छन। विरोध गर्नु पर्यो भने पनि सबैले गर्छन, समर्थन गर्न पर्यो भने सबैले। थवाङमा मुखिया प्रथा(राजप्रथा) अहिले पनि कायमै छ। जहिले पनि अघोषित राजा हुन्छ यहाँ। उसैको सेरोफेरोमा घुम्छ थवाङको राजनीति।
२०७० मा किन सून्य मत ?
सदरमुकामबाट २८ कोष टाढा दर्जनौ पहाड काटेर २ दिनको पैदल यात्रा पछि पुगिन्छ थवाङ । कुनै समयमा माओवादी र थवाङ एउटै हो भन्दा पनि फरक पर्दैन थियो । कारण माओवादी जन्मिएको ठाउँ, हुर्किएको आगन, जनयुद्धको जग हालेको भूमि । ३९ जनाले देशको नाममा रगत बगाएको सयाैँ घाइते, अपांग, टुहुरा, एकल महिला गनिनसक्नुको तथ्यांक छ।
प्राय मगर र दलितको बसोबास रहेको थवाङ स्वच्छ, इमान्दार, लगनशिल, समाजप्रति समर्पणको भावना अनि बलिदानीपूर्ण इतिहासका कारण परिचित छ। यातायात, शिक्षा, स्वास्थ्य, रोजगार, राज्यको उपस्थिति आदि आधारभूत सेवाहरुको पहूँच नभएकाले जीवन कष्टकर बनेको छ।
ठूलो रोग लागिहाल्यो भने सहरका सुविधा सम्पन्न अस्पतालमा जानुपर्ने अवस्थामा अधिकांशको आर्थिक हैसियतले थेग्न सक्दैन । कतिपय सदरमुकामसम्म पनि पुग्न नसक्ने अवस्था छ।
एक्काइसौ सताब्दीमा आइपुग्दा पनि यहाँ कटुवाले प्रथा रहनुले आधुनिकता र विकासको गति कस्तो छ भनेर थाहा पाउन सकिन्छ । देशमा राजतन्त्र गएर आफ्नै रोजाइको गणतन्त्र आयो र पनि महसुस गर्न पाएनन् थवाङीहरुले।
थवाङीलाई सपना बेचेर शहर छिरेका माओवादी उतैको हावापानीसँग विलिन भए। विगतमा आफ्नो छाक काटेर सिस्नोसँग ढिडो खाएकाहरु सिंहदरवारमा कता हराए कता। उनीहरुको जीवन यापन नजिकैबाट नियालेकाहरु अचम्मित छन। आलिसान महल, चिल्ला गाडी, आफैले कहे जस्ता सुकिला मुकिला भएपछि त्याग–लगानी आज थबाङीहरुलाई अभिसाप भएको छ।
सँगै खाने, सँगै बस्ने, साम्यवादको सुरुवात गर्ने भन्दै कम्यूिनष्टको स्थापना गर्न लगाएर भएभरको सम्पति एउटैमा गाभ्न लगाइयो। आज त्यहि अभ्यासको विपरितमा नेताहरु देखा परे। हिजो स्थापना गरिएका जनवादी विद्यालय गाइगोठमा परिणत भएका छन। कतै भने सामुदायीक विद्यालयमा गाभिएका छन। सहकारी पनि अलपत्र छन्।
हिजो माओवादी र थवाङीको सपना, लक्ष एउटै थियो तर आज माओवादी शहर छिरेपछि उसको रहर फेरिएको छ। थवाङ उनीहरुका लागि विरानो गाउँ भयो। समान सहभागिता र राज्य सत्तामा समान पहूँचका लागि लड्छु भनेर शहर छिरेका नेताहरुसँग सम्वन्ध तोडिएको महसुस गर्दै छन्। त्यसकारण उनीहरुको हिजो जस्तो निकटता छैन माओवादीसँग।
सत्तामा पुगेको छोटै समयमा माओवादी चिरा चिरामा विभाजित भएपछि थवाङीको मन छिन्न भिन्न भएको छ। भरोसा समेत गुमेको छ।
पंचायत, बहुदल र गणतन्त्र तिनै व्यवस्थामा विद्रोह गरेको छ थवाङले। चितवनका छविलाल दाहाल थवाङ पुगेर कसरी प्रचण्ड वने ? गोरखाका बाबुराम भट्टराई, प्यूठानका मोहन वैद्य किन छिरे यता ?
पहूँच भन्दा टाढाको यो मगर वस्ति सोझा र इमान्दारहरुको आश्रय स्थल हो। शिक्षामा पछाडि परेका थवाङीहरुलाई सजिलै भावनामा बहलाउन सहज बुझेका उग्रवाम नेतृत्व रोल्पालीको भावनालाई सिढी बनाउन सजिलो देखेर भित्रिएको अनुमान गर्छन रोल्पालाई नजिकबाट नियाल्नेहरु। होइन भने जनयुद्धको जग त प्रचण्डले शिक्षा र चेतनामा विकसित भनिएको चितवनबाटै गरेकोे भए हुन्थ्यो नि। या बाबुुरामले गोरखाबाट या त वैद्यले प्यूठानबाटै शुरु गरेको भए के हुन्थ्यो ?
२०२५ सालताकाबाटै थवाङको स्वाभाव बुझेका वैद्य र २०४२–०४३ तिरबाट नियालेका प्रचण्ड सबै सबैले हतियारको मतियार मात्र बनाए। गणतन्त्र पछि थवाङ पुगेको बजेट भनेको मृतकका नाममा ३९ जनाले पाएको एक करोड १७ लाख, वेपत्ताको नाममा तीन लाख, घाइते–अपांगको नाममा १८ लाख ८० हजार, अपहरणको नाममा ७५ हजार, जीवन निर्वाह भत्ताको नाममा १२ लाख २८ हजार, टुहूराको नाममा तीन लाख, एकल महिलाको नाममा तीन लाख ५० हजार र छात्रवृत्तिको नाममा करीव तीन लाख मात्र हो। यस बाहेक नमूना बस्ति विकास, पर्यटन विकास आदिका नाममा नगण्य बजेट भित्रिएको यहाँ। अदृश्य रुपमा ठूलो रकम पुगेको हल्ला छ, तर त्यो कता गयो कसैलाई थाहा छैन।
त्याग, तपस्या, बलिदान, समर्पण जे जे शब्द भने पनि सबै दियो थवाङले। १३ पटक सम्म ठूला–ठूला अपरेशन भोगेको यहाँ दिन चर्या विकास निर्माण आर्थिक उन्नति, शिक्षा, स्वास्थ्यमा सुधार २०७८ साल सम्म पुग्दा खासै भिन्नता छैन।
दिनेश दिपु सुवेदी
