काठमाडौं, १ फागुन। गाउँमा तत्कालीन माओवादी नेताहरु जनसेना बढाउने अभियानकै क्रममा थिए। जनसेना बनेपछि स्वतः सेना समायोजन हुने र राष्ट्रिय सेना बनिने ‘अफवाह’ माओवादी कित्ताबाट फैलिरहेको थियो। यही प्रलोभनमा परेका दाङ बिजौरीका १५ बर्षिय खुशीराम चौधरी २०६२ मा माओवादी जनसेनामा प्रवेश गरे। उनको आशा थियो ‘नेपाली सेना बन्ने।’ नेपाली सेना बनेर आफ्नो आयस्तर राम्रो बनाउने सपना तुहियो। शिविर छोडेर खेतीकिसानीमै फर्केका उनी दुई वर्ष सम्म माओवादीका लागि गरेको त्यागप्रति थकथकी मान्छन्। भन्छन् ‘बेकार समय खेर फालियो, अनावश्यक दुख उस्तै।’
दुई वर्ष रोल्पाको दहवनस्थित लडाकुको पाँचौँ मुख्यालय शिविरमा बिताए उनले। ०६४ मा अनमीनले लडाकु प्रमाणिकरण गर्याे। त्यो प्रमाणिकरणमा उनी उमेरका कारण अयोग्य सावित भए। ०६५ मा उनी शिविरबाट निक्लन करै लाग्यो। अनमीनको भाषामा उनी ‘बाल लडाकु’ थिए। ‘त्यो बेला मलाई उमेर नपुगेको भनेर हटाइयो,’ उनी भन्छन् ‘पहिला जाने बेलामा सबै नेपाली सेना बन्ने भनेर देखाइएको आश्वासन झूठो रहेछ भन्ने त्यही बेला बुझेँ।’
०६५ मा अयोग्य बनेर घर फर्किएका ‘बाल लडाकु’ खुशीरामले बाटो खर्च भन्दै १० हजार रुपैयाँ पाए। त्यो बाहेक माओवादी सेना बन्दा केहि उपलब्धी भएन। उनी भन्छन् ‘घर फर्कँदा १० हजार रुपैयाँ बाटो खर्च भनेर पाएको हुँ, त्यस बाहेक अरु उपलब्धी केहि भएन।’
२०६० मा जनसेनामा प्रवेश गरेका घोराहीका दीपक केसी माओवादीको गलत प्रचारको पछाडी लाग्दा समय खेर गएकोमा थकथकी मान्छन्। भन्छन् ‘लहलहैमा लाग्दा पढाई गायव भयो, समयको उस्तै नाश।’ ७ मा पढ्थे दीपक। गाउँमा माओवादी सेना बन्नेहरुको लहडै चलेको थियो। समाज परिवर्तन, धनी गरिव विचको विभेद अन्त्यका माओवादी नाराले उनको मन छोईसकेको थियो। त्यसमाथि स्वतः नेपाली सेना बन्ने माओवादी सपनाले दीपकलाई पनि रोल्पा दहवन ‘क्यान्टोनमेन्ट’ सम्म पुर्याई छोड्यो। चार बर्षे शिविर बसाई सेना बन्ने सपनामै बिते। तर अफसोच उनी पनि अनमीनको प्राणिकरणमा बाल लडाकु भन्दै फालिए। ‘एक्कासी उमेर नपुगेको भनेर फालिएको भन्ने खवर पाएपछि छाँगाबाट खसेझँ भएँ,’उनी भन्छन् ‘ब्यर्थ माओवादीको पछि लागेर जीवन बर्बाद पारियो ।’
बाल लडाकुहरुलाई सयम, शिक्षा गुम्नुको पीडा एकथरी छ। कतिपयलाई त आफ्नो पुरानो परिचय खोल्नै सहज भैसकेको छैन। दाङ लक्ष्मीपुरका सुरेश केसी (नाम परिवर्तन) आफ्नो लडाकुको पुरानो परिचय लुकाउन चाहन्छन्। उनी भन्छन् ‘मैले जीवनमा सबै भन्दा ठूलो गल्ती त्यही गरे, मलाई मेरो पुरानो जीवनको बारेमा सार्वजनिक नगरिदिनु होला, किनकी मेरो रोजीरोटीमै धक्का पुग्न सक्छ।’ अहिले लक्ष्मीपुरमै व्यवसाय गरेर बसेका उनी पनि माओवादीको प्रलोभनले लिप्त भएर दहवन हानिएका थिए। उनकाअनुसार माओवादीले २०६३ मा जिल्लाको मुर्कुटी भन्ने स्थानमा विद्यार्थीहरुका लागि दुई दिने कार्यक्रम भन्दै उक्त कार्यक्रममा जान उर्दी गर्याे।
९ कक्षामा पढ्दै गरेका सुरेश माओवादीको त्यहि उर्दीका कारण मुर्कुटी उक्लिए। त्यहाँ माओवादी सिद्धान्तबारे दुईदिने अन्तर्क्रियात्मक कार्यक्रम चलाएका माओवादीहरुले सुरेशको मन पगाली छाडे। ‘जीवन सुन्दर बन्छ,पैसै पैसा हुन्छ भनेर दुईदिनसम्म यसरी मन पगाले, म त्यहीँबाटै दहवन लागेँ,’उनी भन्छन् ‘शिविरमा पुगेर कति दुख काटियो यही मनलाई थाहा छ।’ ललाइफकाइमा माओवादी सेना बनेका उनी पनि बाललडाकु साबित भए, अनि घर फिर्ता भए। ‘त्यहाँ लागेबापत बाटो खर्च भनेर १० हजार रुपैयाँ पाएँ,’उनी भन्छन् ‘गुमाएको कुरा त कति गुमाएँ कति ?’ अनमीनले १८ वर्षदेखि कम उमेरका लडाकुहरुलाई बाललडाकु भन्दै अयोग्य घोषणा गरेको थियो।
उमेर हदका कारण घर फिर्ता भएका बाल लडाकुहरु अहिले द्वन्द्वमा होमिनुको थकथकीमा छन्। शिविरबाट अयोग्य भएर बाहिरिँदा पाएको बाटो खर्च बाहेक उनीहरुको हातमा केही नपरेकोमा उनीहरुको गुनासो अधिक छ। राज्यले आफूहरुलाई पनि राहत दिनुपर्ने भन्दै उनीहरुले केही समय अघि लामो आन्दोलन गरेको भएपनि सुनुवाइ हुन नसकेको गुनासो उनीहरुको छ। ‘श्वेच्छिक अवकाशमा शिविर निस्केकाहरुले पाँच लाख रुपैयाँ राहत पाए,’ तुलसीपुरका अर्का बाल लडाकु भन्छन् ‘तर हामीहरुलाई राज्य अनि माओवादी पार्टीले उपेक्षा गर्यो ।’
राज्यबाट राहत नपाएकोमा गुनासो गर्ने उनीहरु द्वन्द्वका घटनाको न्यायीक छानबिन गर्न बनाइएको सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्र भित्र पर्न सकेनन् ।
